कोरोना उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिने घोषणा

झापा, १४ चैत । विर्तामोडस्थित बिएण्डसी टिचिङ हस्पिटल कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि राज्यलाई दिन तयार रहेको सञ्चालकले घोषणा गरेका छन् । सञ्चालक दुर्गा प्रसाईंले आज विज्ञप्ति जारी गर्दै तत्काल कोरोनाको उपचार गर्न बीएण्डसी टिचिङ हस्पिटल राज्यलाई दिन तयार रहेको बताएका हुन् ।

बी एण्ड सीमा ८०० सय साधारण शय्या, १०० सघन उपचार कक्ष आईसीयू र २५ भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेको हस्पिटलमा १०५ चिकित्सक छन् भन्दै उनले आफूहरुसंग स्वास्थ्यकर्मीका लागि पीपीई र परीक्षण किट नभएका कारण उपचारमा समस्या भएको समेत बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘सरकारले मात्र उपलब्ध गराउने सक्ने किट्स र जाँच उपचारका लागि प्रयोग हुने सुरक्षित उपकरणहरु, पिपिई सेट उपलब्ध नभएका कारण हामी यो उपचार गर्न र परीक्षण गर्न सकिरहेका छैनौंँ, सरकारले यो विषम परिस्थितिमा कोरानाको उपचार र परीक्षणका लागि यो हस्पिटल उपयोग गर्न चाहन्छ भने हामी दिन तयार छौं ।’

प्रसाईँले अस्पतालको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० शय्याको क्वारेन्टाइन बनाउन सकिने बताएका छन् ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङका २५ लाखभन्दा बढी मानिसले उपचार सेवा लिन सक्ने हस्पिटलमा कोराना भाइरसको उपचार गरिनुपर्ने स्थानीयवासीले सामाजिक सञ्जालमार्फत माग गर्दै आएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *