भारतद्धारा ह्याण्ड सेनिटाइजर निकासीमा रोक

काठमाडौँ, १२ चैत ।  भारतले ह्याण्ड सेनिटाइज निकासीमा पूर्णरुपमा रोक लगाएको छ । यो संगै अब नेपाल ह्याण्ड सेनिटाइजरमा आत्मनिर्भर हुनुपर्ने बाध्यता देखिएको छ ।  भारतीय उद्योग तथा बाणिज्य मन्त्रालयले हिजो सूचना जारी गर्दै पूर्ववत व्यवस्थालाई खारेज गर्दै ह्याण्ड सेनिटाइजर निकासीमा रोक लगाएको जनाएको छ ।

हात सफा गर्ने सबैभन्दा सजिलो र सुरक्षित बस्तु ह्याण्ड स्यानिटाइजरको अत्यधिक माग देशभित्रै बढेपछि यस्तो निर्णय लिनुपरेको भारतीय अधिकारीहरुले बताएका छन् ।

यसअघि गत १९ मार्चदेखि नै सो मन्त्रालयले भ्यान्टीलेटर, स्वासप्रश्वासको उपचारमा प्रयोग हुने उपकरण तथा डिभाइसहरुमा निकासीमा समेत रोक लगाइसकेको छ ।

औषधि व्यवस्था विभाग भन्छ दर्ता हुनुस् र उत्पादन गर्नुस्
औषधि व्यवस्था विभागले ह्याण्ड सेनिटाइजरलाई औषधीय बस्तुमा सूचीकृत गर्दै त्यसको दर्ता भएर उत्पादन गर्न औषधि उद्योगलाई आवहान गरेको छ । तर औषधि उत्पादकहरुले सरकारको यो निर्णय निकै ढिला आएको बताएका छन् ।

‘हामी सेनिटाइजर उत्पादन गर्न सक्छौँ तर अव दर्तामा जानुपर्ने, अन्य अफिसियल प्रक्रिया मिलाउनुपर्ने भनेको छ । यसले थप ढिलाई हुन्छ । यो बेलामा जति सक्यो छिटो उत्पादन गर्ने व्यवस्था मिलाउनुपर्ने हो । सरकारी अधिकारीहरु अझैँ पनि गम्भीर नबनेको हो कि भन्ने भान भएको छ,’ नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले स्वदेशमा हुने उत्पादन र विदेशबाट ल्याउन सकिने आवश्यक सबै औषधि उपकरणका लागि सरकारले आवश्यक पहल गरिरहेको बताए । उनले स्वदेशमा उत्पादन हुनसक्ने औषधि र उपकरणहरुको लागि निजी उद्योगीहरुसंग निरन्तर सम्पर्कमा रहेर काम अघि बढाइरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *