अस्पतालको सेवा र अवस्था बुझ्न स्वास्थ्य सचिवको संयोजकत्वमा ७ सदस्यीय समिति

काठमाडौँ, १२ चैत । देशभरका अस्पतालहरुमा कोरोना भाइरस सम्भावित बिरामीको उपचार, व्यवस्थापन तथा समन्वय गर्न स्वास्थ्य सचिव यादव कोइरालाको संयोजकत्वमा सात सदस्यीय अनुगमन समिति गठन गरेको छ ।

उक्त समितिमा स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राई, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसुरुद्धिन अन्सारी सदस्य रहेका छन् ।

समितिले देशभरका सरकारी तथा निजी अस्पतालको अवस्थाको जानकारी लिने, सेवाको बारेमा बुझ्ने, विरामीको अवस्था, उपकरण, बिरामीले उपचार पाएका छन्, छैनन्, कुन अस्पतालमा बिरामीको चाप छ, कुन अस्पताल खाली छ लगायतका विषय अनुगमन तथा समन्वय गर्नेछ ।

कतिपय अस्पतालहरुमा कोरोना भाइरसका संकास्पद बिरामीलाई फर्काएको खबर सार्वजनिक भएपछि यो समितिले त्यस विषयमा पनि अनुगमन गर्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *