औषधि निर्यात रोक्ने निर्णय संसोधन गर्न भारत सरकारलाई ‘फर्माक्सिल’को सुझाव

काठमाडौँ, २६ फागुन । आफ्नो देशमा उत्पादित औषधिलाई विश्वबजारमा निर्यातका लागि प्रवर्धन गर्न गठन भएको फर्मास्युटिकल्स एक्सपोर्ट प्रमोसन काउन्सिल अफ इन्डिया (फर्माक्सिल)ले औषधि निर्यात रोक्ने निर्णयलाई तत्काल संसोधन गर्न सरकारलाई सुझाव दिएको छ ।

फर्माक्सिलले उद्योग तथा बाणिज्य मन्त्रालय अन्तरर्गतको अन्तराष्ट्रिय व्यापार निर्देशनालयका महानिर्देशकलाई पत्र लेखि यस्तो सुझाव दिएको हो ।

भारत सरकारले कोरोना भाइरसले देखाउन सक्ने असरलाई ध्यान दिएको भन्दै मार्च ३ देखि विभिन्न २६ प्रकारका औषधिहरु निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । यो निर्णयसंगै नेपालमा कतिपय औषधिको हाहाकार हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो ।

यद्धपी औषधि आयातकर्ता संघ र नेपाल औषधि उत्पादक संघले आफूहरुसंग पर्याप्त औषधि रहेको भन्दै तत्काल त्यस्तो हाहाकार नहुने बताइसकेको छ ।

फर्माक्सिलले निर्देशनालयलाई लेखेको पत्रमा एक्कासी निर्यात रोक्ने निर्णय गर्दा सम्झौँता भईसकेका कम्पनीहरुविरुद्ध घात गरेको हुने र विश्व बजारमा भारतीय कम्पनीको विश्वसनीयतामा आँच पुग्न जाने उल्लेख छ ।

सरकारले गठन गरेको परिषदबाटै यस्तो खालको सुझाव भएपछि सरकारले औषधि रोक्ने भन्ने निर्णयमा संसोधन गर्ने बताउँछन् नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य । उनी भन्छन्, ‘फर्माक्सिलको यो पत्रपछि भारतीय सरकारलाई आफ्नो पूर्व वक्तव्यलाई संसोधन गर्न दवाव पुग्नेछ । र पक्कै औषधि निर्यातले निरन्तरता पाउनेछ ।’

भारतीय सरकारको निर्यात रोक्ने निर्णयपछि औषधि र कच्चा पदार्थ बोकेर आएका ८० बढी ट्रक नेपाल भारत सिमा नाकामा रोकिएको आयातकर्ताहरु बताउँछन् ।

नेपालका लागि औषधि रोक्ने निर्णय खुकुलो बनाउन भारतीय बाणिज्य सचिव सकारात्मक

यसैबीच ३ मार्च पछि रोकिएका भनिएका औषधि नेपालमा सहज निर्यात गर्न भारतीय सरकार सकारात्मक रहेको नेपाली उच्च अधिकारीहरुले बताएका छन् ।

मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा आज बसेको उच्चस्तरीय प्राविधिक समितिको बैठकमा बाणिज्य सचिव बैकुण्ठ अर्यालले सो जानकारी दिएका हुन् ।

‘उताबाट सकारात्मक कुरा आएको छ । कुन कुन औषधि कुन कुन पैठारीकर्ताबाट नेपालमा जाने गरेको छ । त्यसको विवरण उपलव्ध गराउन भनिदिनुस । हाम्रो नजिकको मित्र राष्ट्र नेपाललाई औषधिमा अफ्टेरो पार्ने छैनौँ ,’आजको बैठकमा बाणिज्य सचिव अर्यालले भारतीय समकक्षीले दिएको जानकारी यसरी उल्लेख गरेका थिए ।

आजको बैठकमा नेपालमा औषधिको स्टक, आवश्यकता लगायतका विषयमा समेत छलफल भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *