कोरोनाको आशंकामा कुवेतबाट आएका एक नेपालीलाई पाटन अस्पताल पठाइयो

काठमाडौँ, २६ फागुन । कुवेतबाट आएका एक जना नेपालीलाई त्रिभुवन विमानस्थल हेल्थ डेस्कले कोरोना भाइरसको आशंकामा पाटन अस्पताल पठाएको छ ।

आज विहान करीब १ बजेको उडानमा कुवेतबाट आएका ती नेपालीलाई एयरपोर्टमा हेल्थ डेस्कमा स्वास्थ्यकर्मीले जाँच गर्दाँ मापदण्ड भन्दा बढी तापक्रम देखिएको थियो ।

‘उनलाई जाँच गर्दा एक सय डिग्री भन्दा बढी ज्वरो देखिएपछि उनलाई पाटन रिफर गरिएको हो,’ हेल्थ डेस्क स्रोतले भन्यो ।

नेपालमा चीनबाट ल्याइएका १७५ जना सहित अहिलेसम्म ४३३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमा एक जना बाहेक बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

नेपाल आउने यात्रुले विमानमै स्वास्थ्य विवरण फारम भर्नुपर्ने

अब नेपाल आउने सबै एयरलाइन्सका यात्रुले लिखित रुपमा स्वास्थ्य विवरण भर्नु पर्ने छ । नेपाल नागरिक उड्यन प्राधिकरणले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा नेपाल आउने सबै उडानहरुमा हेल्थ विवरण भर्ने फारमको व्यवस्था गरेको छ । ‘अब नेपाल आउने यात्रुले आफ्नो विवरण सहित हेल्थ स्टाटस उल्लेख गर्नुपर्ने हुन्छ,’ विमानस्थल स्रोतले भन्यो ।

स्वास्थ्य मन्त्रालयले नेपाल आउने उडानका लागि भन्दै २ लाख बढी फारम तयार पारी प्राधिकरणलाई उपलव्ध गराएको छ ।

यात्रुले भरेको फारम क्रु मेम्बरले संकलन गरी एयरपोर्टस्थित हेल्थ डेस्कलाई उपलव्ध गराउनेछन् । ‘यसले यात्रुको स्वास्थ्य र को कहाँ छ भन्ने समेत जानकारी हुनेछ,’ स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *