प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : नर्मल खाना, हिडडुल र फिजियोलाई निरन्तरता

प्रत्यारोपण गर्नु अघिल्लो दिन त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओली र उनकी भान्जी समिक्षा

काठमाडौँ, २४ फागुन ।  चार दिनअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा राम्रो सुधार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालले प्रधामन्त्री ओलीको मिर्गौला प्रत्यारोपण पछि आज जारी गरेको चौथो दिनको स्वास्थ्य बुलेटिनमा सो जानकारी दिइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जारी गरेको बुलेटिनमा आज पनि प्रधानमन्त्रीलाई सामान्य हिँड्डुल गराउनाका साथै ‘फिजियोथेरापी’लाई पनि निरन्तरता दिइएको छ । प्रधानमन्त्रीको ‘भाइटल’ तथा प्रयोगशाला परीक्षणको सुचक सामान्य रहेको बताइएको छ ।

यस्तै प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्यावस्थामा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ । उहाँको पनि स्वास्थ्यसम्बन्धी अत्यावश्यक स्थिति प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् । दातृ सङ्ग्रौलाले पनि साधारण खाना खानाका साथै हिँड्डुल गर्न थालिसकेको कार्यकारी निर्देशक खड्गाले उल्लेख गरेको बुलेटिनमा बताइएको छ ।

चीनका राष्ट्रपतिद्वारा प्रमको शीघ्र स्वास्थ्यलाभको कामना

यसैबीच चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई आज एक सन्देश पठाएर हालै उनले मिर्गौला प्रत्यारोपण गर्नुभएको जानकारी प्राप्त भएको उल्लेख गर्दै चीन सरकार, त्यहाँका जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले सन्देशमा दुई देश तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीचको सम्बन्धलाई थप विस्तार गर्दै त्यसलाई गतिशील बनाउन तथा दुई देशका जनताको हितका खातिर द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । । प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *