कोरोना भाइरसको अवस्था र हाम्रो स्वास्थ्य नीति

  • बसन्त अधिकारी, जनस्वास्थ्यविज्ञ
बसन्त अधिकारी, जनस्वास्थ्यविज्ञ

विश्व स्वास्थ्य संगठन को तथ्यांक अनुसार कोरोना भाइरस सम्बन्धि रोग २०१९ (COVID-19) ले मार्च १, २०१९ सम्म ५९ राष्ट्रका ८७,१३७ जनामा संक्रमण देखिएको छ ।  यो रोग लागेपछि करिब ८० प्रतिशत मानिसहरुमा सामान्य रुघाखोकीको लक्षण मात्र देखिएर सन्चो भएका छन् भने यसले करिब ३ प्रतिशत  मानिसहरुमा जटिलता ल्याई मृत्यु गराएको छ।

बीबीसीमा प्रकाशित चीनको रोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार मृत्यु हुने मानिसहरु अधिकांश ६० बर्ष उमेर भन्दा बढी रहेका छन् तर ६० बर्ष भन्दा कम उमेर समुहमा रोग लागिहाले पनि १ प्रतिशत भन्दा पनि कमलाई  मात्र जटिल भई मृत्यु भएको छ । साथै मृत्यु हुने मध्ये पनि अधिकांस मुटु, मधुमेह, दम तथा उच्च रक्तचापका रोगीहरु रहेका छन्।

COVID-19 चीनमा एक हप्ता अगाडी दैनिक २००० जना भन्दा बढीमा नयाँ संक्रमण हुने गरेकोमा त्यहाँ संक्रमंमा कमि भई लगभग ५०० जनामा कायम भएको छ भने अन्य राष्ट्रहरु बिशेष गरि कोरिया, इटाली, फ्रान्स र इरानमा नयाँ संक्रमणको वृद्धि भएको छ ।

यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठनले COVID-19 लाइ जनस्वास्थ्य बिपत घोषणा गरी दैनिक प्रतिबेदन प्रकाशन गर्दै आइरहेकोमा गत शनिबारदेखि सम्पूर्ण विश्वलाई नै विश्व महामारी (Global Pandemic) को उच्च जोखिममा रहेको जनाएको छ । यद्यपी नेपाल लगायतका कुनैपनि दक्षिण एशियाली मुलुकहरुमा हालसम्म यो रोगको स्थानीय संक्रमण छैन ।

नेपालमा हालसम्म चीनबाट फर्केका एक जनालाई यो रोग लागेको पुष्टि भएको भएपनि उक्त बिरामीले कसैलाई पनि रोग नसारी निको भइसकेका छन्।

उपरोक्त तथ्यांकको विश्लेषण गर्दा कोरोना भाइरसले दीर्घरोगी र ६० बर्ष भन्दा बढी उमेरसमूह बाहेकका मानिसहरुलाई खासै जोखिम देखिदैन ।  तथापि नेपालले पनि संक्रमणको जोखिमलाई कम गर्न केहि नीतिगत निर्णय तथा सिफारिसहरू गरेको छ।

हालै मात्र स्वस्थ सेवा विभागले स्वास्थ्यका सबै क्रियाकलापहरु बन्द गरी Corona बिरुद्धको लडाईलाइ प्राथमिकता दिनु, नेपाल सरकारले प्राथमिकतामा रहेको नेपाल भ्रमण बर्षका कार्यक्रम रद्द गर्नु, त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल लगायतका केहि नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभाबकारी बनाइनु, सार्बजनिक रुपमा मानिसहरु भेला हुने तथा भोज भतेर नगर्न अपिल गरिनु तथा प्रादेशिक स्तरमा समेत यस रोगका बिरुद्ध क्रियाकलाप गरिनुले नेपाल लगाएत विश्वकै ध्यान यस रोगले केन्द्रित गरेको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनले बिशेसगरी बिकशित मुलुकका मानिसहरुलाइ स्वास्थ्य जोखिम हुदै गर्दाको अवस्थामा जनस्वास्थ्य विपत्तिको अवस्था घोषणा गर्ने र यस्ता रोगहरुलाई प्राथमिकता दिने गर्दछ ।

नेपाल लगायतका मुलुकहरुलाई अति जोखिम क्षेत्र मानी जनस्वास्थ्य बिपत्ति घोषणा गरिनुले नागरिकहरुलाई त्रास र भयको बातावरण बनेको छ जसले गर्दा बजारमा अति आवस्यक सामग्रीहरु मास्क, ग्लोब्स लगायतका बस्तुहरुको अभाब तथा चर्को मूल्य वृद्धि भएको छ ।

नेपाल लगायतका विकासशील मुलुकहरुमा अहिले विशेषगरी कुपोषण, स्वासप्रस्वास सम्बन्धि अन्य रोग, क्यान्सर, मुटुरोग, मृगौला रोग, सडक दुर्घटना आदिको कारणले मृत्यु हुने भएपनि अन्तरास्ट्रिय प्रतिबद्धताका कारण यसलाई प्राथमिकतामा राख्नु परेको छ ।

नेपालले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न स्वास्थ्य नीतिगत निर्णय गर्नु जरुरी छ ।  चीन लगायतका मुलुकहरुबाट कुटनीतिक अवस्था बाहेक अन्य अवस्थामा नेपाल आउने मानिस निरुत्साहित गर्न कम्तिमा २ महिना सबै देसका नागरिकलाई On Arrival Visa बन्द गर्ने तथा अनावश्यक भ्रमणमा रोक लगाउन सकिन्छ ।

अन्तरास्ट्रिय विमानस्थल लगायत नेपाल भित्रिने नाकाहरुमा हेल्थ डेस्कलाई प्रभावकारी बनाउन चिकित्सक सहित आवश्यक  उपकरणको व्यवस्थापन गरी सबै यात्रुहरुको Screening तथा आवस्यक क्वारेन्टाइनको व्यवस्था गर्नु पर्दछ ।

साथै जन मानसमा रहेको कोरोना सम्बन्धि अनावश्यक त्रासलाई कमि गर्न सहि सूचना सम्प्रेषण गरी सुसूचित गर्ने, अत्यावस्यक सामग्री मास्क, ग्लोब्स लगायतका व्यक्तिगत सुरक्षा सामग्रीको कालोबजारी अन्त्य गर्ने, स्वास्थ्यकर्मीहरुलाई सुरक्षित गरी तयारी अवस्थामा राख्ने लगायतका नीतिगत निर्णय तथा क्रियाकलापहरु गर्नु आवश्यक  छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *