प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण : भान्जी नाता पर्ने समिक्षा अंगदाता

328
Shares

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बरिष्ठ सर्जन प्राडा प्रेम ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ ।

सपोर्टका लागि पहिलो पटक प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राडा अनन्तकुमार दुई सदस्यीय टोली लिएर काठमाडौँ आईसकेका छन् ।

प्रत्यारोपण बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने छ । त्यसका लागि प्रधानमन्त्री ओली आजै अस्पतालमा भर्ना हुनेछन् । प्राडा ज्ञवालीले, आफ्नो नेतृत्वमा प्रत्यारोपण हुने बताए । उनले प्रत्यारोपणको बेला भारतीय चिकित्सक रहने समेत संकेत गरे । ‘प्रत्यारोपण त हाम्रै टोलीले गर्नेछ तर आवश्यक परेको खण्डमा वा प्रतिनिधित्वको रुपमा उताबाट पनि डाक्टर आउनुहुन्छ । किनभने उहाँ प्रधानमन्त्री पनि त हो । हामीले केही तयारी त गर्नै पर्यो,’ प्राडा ज्ञवालीले भने ।

प्रधानमन्त्रीलाई भान्जीले दिनेछिन् मिर्गौला

प्रधानमन्त्री ओलीका लागि मिर्गौला भान्जी नाता पर्ने समिक्षा संग्रौला ज्ञवालीले दिनेछिन । उनको सबै स्वास्थ्य परीक्षण भइसकेको छ । उनी मामा नाता पर्ने प्रधानमन्त्री ओलीलाई मिर्गौला दिनका लागि यसअघि नै तयार भइसकेकी थिइन्।

ओलीको ६९औँ जन्मदिनमा पनि उनी बालुवाटार पुगेकी थिइन्। त्यहीँ ओलीले आफूलाई मिर्गौला दिने समीक्षाको चिनजान अरुसँग समेत गराएका थिए ।

यसअघि ओलीलाई मिर्गौला दिन नेपालमा रहेकी भाञ्‍जी समीक्षा र अमेरिकामा रहेका भाञ्‍जा तयार भएका थिए। अमेरिका गएको खण्डमा भाञ्जाको मिर्गौला लिने तयारी भएको थियो। तर, ओलीले देशमै प्रत्यारोपण गर्ने बताएपछि भाञ्जीको मिर्गौला लिन लागिएको हो।

दोस्रो पटक ओलीको मिर्गौला प्रत्यारोपण तयारीसँगै अन्य दर्जन भन्दा बढी व्यक्तिहरु दान गर्न तयार भएका थिए। तर ओलीले परिवारबाटै मिर्गौला लिने इच्छा देखाएका हुन्।

प्रधानमन्त्री ओलीको १३ बर्ष अघि दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *