स्वास्थ्यमा १४ महिना भित्र पाँच जना सचिव फेरिए, कहाँबाट आए कहाँ गए ?

काठमाडौँ, १९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १४ महिनाको अवधिमा ५ जना सचिव फेरिएका छन् । फेरिने सबै सचिव प्रशासन समूहका हुन् ।

सरकारले गतवर्ष १७ मंसिरमा स्वास्थ्य समूहका तत्कालिन सचिव डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी उनको ठाँउमा केदारबहादुर अधिकारीलाई ल्याएको थियो ।

तर, डा चौधरी सरकारको निर्णय विरुद्ध सर्बोच्च अदालत गईन र निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश लिएर आइन । उनी फिर्ता आएपछि स्वास्थ्यमा दुई जना सचिव भए । दुई जना सचिव हुँनासाथ काम र जिम्मेवारीमा समेत असमझदारी देखा पर्यो । अन्तत : अधिकारीको ५१ दिनमै सरुवा भयो ।

९ माघ २०७५ मा बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई स्वास्थ्यबाट उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा गर्ने निर्णय गरयो । सोही बैठकले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । तर घिमिरेको अवधी स्वास्थ्यमा तीन महिना टिकेन उनी ८१ दिनमै महिला बालबालिका मन्त्रालयमा सरुवा भए ।

२ बैशाख २०७६ मा बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सचिव घिमिरेलाई महिला बालबालिका मन्त्रालयमा पठाउने र उनको ठाँउमा कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियालाई ल्याउने निर्णय गरयो ।

स्वास्थ्यमा आएका थपलिया घिमिरे भन्दा ढेड महिना बढी बसे । २ भदौ २०७६ मा बसेको मन्त्रिपरिषदको बैठकले १६ जना सचिवको सरुवा गर्दा थपलिया पनि सूचीमा परे । सो निर्णय गर्दा उनी स्वास्थ्यमा आएको १२६ दिन भएको थियो । उनलाई स्वास्थ्यबाट युवा तथा खेलकुद मन्त्रालयमा पठाइयो ।

थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा पठाउँदा सोही बैठकले स्वास्थ्यमा शिक्षा सचिव रहेका खगराज बराललाई ल्याउने निर्णय गरयो । १४ महिनाको अवधीमा स्वास्थ्यमा सबैभन्दा बढी टिकेको सचिव उनै बराल हुन् । उनी स्वास्थ्यमा छ महिना भन्दा बढी अर्थात १९६ दिन सम्म टिके ।

आइतबारबसेको मन्त्रिपरिषद बैठकले बराललाई उपराष्ट्रपति कार्यालय पठाउने निर्णय गरेको छ । उनको ठाँउमा अर्थात स्वास्थ्यमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई पठाउने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा प्रशासन र प्राविधिक ( स्वास्थ्य) समूहका गरी दुई जना सचिव रहने व्यवस्था छ । पछिल्लो समय स्वास्थ्य समूहबाट सचिव बनेकी डा पुष्पा चौधरीले राजिनामा दिएर बाहिरिएपछि सो पद अहिले खालि नै छ । प्रशासन समूहका सचिवहरुले काम गरिरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *