प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण तीन साता भित्रै ?

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण तीन साता भित्र हुने सम्भावना बढेर गएको छ । त्यसका लागि मेडिकल टिमले आवश्यक तयारीलाई तिब्रता दिएका छन् ।
‘मिति नै तोक्न गाह्रो भयो तर सकेसम्म फागुनको अन्तिम हप्ता, नभए चैतको पहिलो हप्ता प्रत्यारोपण गर्ने योजना बनेको छ । अरु अवस्था ठिक रह्यो भने यहि अवधी भित्र नै प्रत्यारोपण हुनेछ,’ स्रोतले भन्यो ।
प्रधानमन्त्री ओली स्वयंले केही दिन अघि मात्रै भएको कार्यकर्ता प्रशिक्षण भेलामा आफ्नो छिटै मिर्गौला प्रत्यारोपण गर्ने बताएका थिए । उनले त्यसबेला प्रत्यारोपणपछि पाँच दिन अस्पताल बस्ने र छैटौँ दिनमा घरमै आउने समेत बताएका थिए ।
यसैसाता बालुवाटारमा चिकित्सक, परिवार र पार्टीका निकटस्थसंग प्रत्यारोपणका बारेमा विस्तृत छलफल समेत भएको थियो ।
प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमै ?
प्रधानमन्त्री ओलीले आफ्नो प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमै गर्न चाहेका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गराउँदा सरकारी सेवा प्रति जनताको विश्वास पनि बढ्ने, सरकारी चिकित्सकको मनोवल बढ्ने र सरकारी सेवा कम छैन् भन्ने सन्देश समेत दिन सकिने भन्दै त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गराउन चाहेका हुन् । यद्धपी यद्धपी यसको अन्तिम निर्णय भने चिकित्सकले लिनेछन् ।
‘प्रत्यारोपण सरकारीमा गर्ने कि निजीमा गर्ने स्वदेशमा गर्ने कि विदेशमा गर्ने भन्ने अन्तिम निर्णय त चिकित्सकै हुन्छ । तर अहिलेसम्मको तयारी हेर्दा त्रिवि शिक्षण अस्पतालमै हुन्छ जस्तो छ,’ स्रोतले भन्यो ।
प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले प्रत्यारोपण गर्ने मिति र अस्पतालबारे खुलाउन चाहिनन् । ‘प्रत्यारोपण त अब छिटै गर्दैछौँ, तर कहिले गर्दैछौँ, कहाँ गर्दैछौँ भन्ने बारेमा अहिले नै भन्न हतारो हुन्छ,’ उनले भनिन् ।
प्रधानमन्त्रीका लागि मिर्गौला दान गर्न इच्छा देखाएर थुप्रै आफन्त आएको समेत उनले बताइन ।
सम्पर्क इमेल : [email protected]