नेपाली डाक्टर एकानन्द सिंहलाई ‘युवा आविस्कारक’ अवार्ड
काठमाडौँ, १६ फागुन । अन्तराष्ट्रिय कलेजो प्रत्यारोपण समाजले नेपाली डाक्टर एकानन्द सिंहलाई ‘युवा आविस्कारक’को अवार्डद्धारा सम्मान गर्ने भएको छ ।
समाजले कलोजो प्रत्यारोपण सम्वन्धि उपचारमा नयाँ विधि पत्ता लगाएको भन्दै डा सिंहलाई सो अवार्डद्धारा सम्मान गर्ने भएको हो ।
आगामी मे महिनामा हुने समाजको बार्षिक सम्मेलनका अवसरमा उनलाई सो अवार्डद्धारा सम्मान गर्ने भएको हो । सम्मेलन आगामी ६ देखि ९ मेसम्म टर्कीको स्तानबुलमा हुँदैछ ।
यो अवार्डका लागि विश्वभरीबाट ४२ बर्ष मुनिका कलेजो प्रत्यारोपण सम्वन्धि चिकित्सकहरुबाट खुल्ला रुपमा पेश भएका कलेजो प्रत्यारोपण सम्वन्धि उपचारको नयाँ विधिहरु मागिएको थियो । त्यसमध्येबाट डा सिंहको विधि उत्कृष्ठ भएको हो ।
उनको अनुसन्धानले प्रत्यारोपणका लागि दाताबाट कति कलेजो लिने भन्ने कुराको निर्धारण ग्रहणकर्ताको फियोको साइजले मुख्य रुपमा निर्धारण गर्ने भन्ने पत्ता लगाएको थियो । अवार्डसंगै उनले एक हजार डलर समेत पाउँदैछन् ।
यो समाज संसारभरीका कलेजो प्रत्यारोपणमा सम्लग्न सर्जन, एनेस्थियोलोजिष्ट, हेपाटोलोजिष्ट, क्रिटिकल कियर र सम्वन्धित स्वास्थ्यकर्मीहरुको छाता संगठन हो ।
डा सिंह हेपाटोविलियरि (कलेजो सम्वन्धि) सर्जरीमा पीएचडी गर्ने नेपालकै पहिलो चिकित्सक हुन् । उनलाई गतवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्याभुषण क बाट समेत सम्मानित गरेकी थिइन ।
कलेजो प्रत्यारोपणलाई सर्जरीहरुमध्ये सबैभन्दा कठिन र जटिल सर्जरी मानिन्छ ।
नेपालमा यो सर्जरी विसं २०७३ सालमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले शुरु गरेको थियो । अहिले त्यो सर्जरी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा समेत हुने गरको छ ।
अहिलेसम्म प्रत्यारोपण केन्द्र भक्तपुरमा ५ जना र शिक्षण अस्पतालमा ४ जनाको कलेजो प्रत्यारोपण भएको छ । यद्धपी ती प्रत्यारोपणमा विदेशी विज्ञ डाक्टरको प्रत्यक्ष सहभागिता रहने गरेको छ ।
नेपाली चिकित्सककै नेतृत्वमा नेपालमा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएका डा सिंह अहिले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालको कलेजो प्रत्यारोपण केन्द्रमा अभ्यासरत छन् ।
सम्पर्क इमेल : [email protected]