स्वास्थ्य विभागद्धारा पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित, अबको १५ दिन कोरोनाविरुद्ध केन्द्रित

काठमाडौँ, १५ फागुन । स्वास्थ्य सेवा विभागले पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरी आफूलाई कोरोना भाइरस विरुद्धको अभियानमा केन्द्रीत गरेको जनाएको छ । विभागले आगामी १५ दिनसम्म विभाग र त्यसअन्तरगर्तका महाशाखाबाट हुने तय भएका तालिम, गोष्ठी, सम्मेलन तथा दिवसहरु स्थगित गरी कोरोनाविरुद्धको अभियानमा लाग्ने जनाएको हो ।

विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले कोरोनाले विश्वव्यापी महामारीको रुप लिनसक्ने संकेत देखिएको भन्दै त्यसको तयारीका लागि विभागले अन्य कार्यक्रम स्थगित गरी कोरोना विरुद्धको अभियानमा केन्द्रीत रहेको बताए ।

उनले यो बीचमा विभागका सबै महाशाखा र युनिटहरुले सातवटै प्रदेशमा पुगेर बस्तुस्थितिको अवलोकन गर्ने, तयारीबारे बुझ्ने र बुझाउने कार्यक्रम रहेको जानकारी दिए ।

‘हाम्रो सातवटा युनिटले सातवटै प्रदेशमा पुगेर बस्तुस्थितिको बारेमा जानकारी लिन्छ । सबै सिमा नाकामा भएका हेल्थ डेस्क, आवश्यक परेको खण्डमा राख्नुपर्ने क्वारेन्टाइन, स्वास्थ्य संस्था, आइसोलेसन वार्ड, जनशक्ति, उपकरण आदिको बारेमा निरीक्षण गर्ने र आवश्यकताका आधारमा सहयोग गर्नेछ,’ उनले भने ।

महानिर्देशक श्रेष्ठले सञ्चारमाध्यमबाट सूचनाहरु सुसूचित गर्ने, होटल तथा ट्रावल एजेन्सीसंग सम्भावित जोखिम र अपनाउनुपर्ने सावधानीका बारेमा अन्तरक्रिया गर्ने, उपत्यकाका हव तथा स्याटलाइट अस्पतालहरुसंग नियमित रिपोर्टिङ लिने लगायतका कार्यहरुलाई पनि यो अवधीमा आक्रमकहरुमा अघि बढाउने बताए ।

‘यसअघि यो संक्रमण चीनमा मात्रै केन्द्रीत थियो । तर जब चीनमा नियन्त्रण उन्मुख हुन थाल्यो त्यसैबेला कोरिया, जापान मात्रै होइन युरोप र अमेरिकाका तीन दर्जन बढी मुलुकमा तिब्रगतीमा फैलिन थाल्यो । यसले हामीसहित आम विश्वजगतलाई चिन्तित बनाएको छ । त्यसैले हामीले परि आएको खण्डमा भनेरै तयारीमा जुटन थालेका हौँ,’ महानिर्देशक  श्रेष्ठले १५ दिने अभियानबारे थप स्पष्ट पारे ।

विभागले कोरोना विरुद्धको अभियानमा सबै महाशाखा केन्द्रीत हुने बताएको छ । ‘यो अवधीमा सामान्य महाशाखामा दैनिक काम बाहेक अरु काम नहुने बताइएको छ । सबै समय कोरोना नियन्त्रणको तयारीमै विताइने छ,’ । उनले पुन जोड दिए ।

चीनमा पछिल्लो समय कोरोनाबाट संक्रमित र मृत्युहुनेको संख्यामा उल्लेख्य कमी आएको छ । तर त्यसको कोरिया, जापान, इटाली, इरान लगायतका देशहरुमा त्यसको विपरित तिब्रगतिमा संक्रमण र मृत्युसंख्या बढेको छ । यसले नेपालमा पनि यसको जोखिम कायमै देखिएको भन्दै विभागले यो तयारी थालेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *