स्वास्थ्य सेवामा पेशागत सिन्डिकेट कहिले सम्म ?

बसन्त थापा – जनस्वास्थ्यकर्मी

प्रसङ्ग १
गत सोमबार (१२ फागुन) का दिन बसेको मन्त्रि परिषदको बैठकले स्वास्थ्य सेवा तर्फ रिक्त रहेको विशिष्ठ श्रेणीको प्रमुख विशेषज्ञ पद ( १२ औँ तह) मा तीन जनालाई बढुवा गर्ने निर्णय गरयो । तीनवटा पद भएपनि बढुवाका लागि पाँच जनाको सिफारिस भएको थियो । मन्त्रिपरिषदले त्यहि पाँचमध्येबाट तीनलाई बढुवा गरेको हो । सिफारिसमा परेका पाँच जना मध्ये चार जना जहेस समूहका थिए भने एक जना हेई समूहका ।

मन्त्रिपरिषद्ले १२ औँ तहको बढुवाको निर्णय गर्नु चार दिन अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सिफारिसमा परेका हेई समूहका तिनै एक जना अर्थात महेन्द्रप्रसाद श्रेष्ठलाई स्वास्थ्य सेवा विभागमा निमित्त महानिर्देशकको रुपमा काम काज गर्न जिम्मेवारी तोकेका थिए । जनस्वास्थ्य समूहबाट विभागको महानिर्देशकको जिम्मेवारी पाउने उनी नै पहिलो थिए ।

यो निर्णयलाई व्यक्तिगत विश्लेषण नगरी पेशागत उपलब्धि र सफलता संग जोड्दा जनस्वास्थ्य क्षेत्रसंग प्रतक्ष्य, अप्रतक्ष्य सरोकार राख्ने व्यक्ति तथा संस्थाहरुका लागि खुशीको खबर थियो। सरोकार राख्नेहरु मध्ये आफु पनि एक भएको हुँदा निकै खुशी नै भईयो । मनले सोच्यो अब नेपालको जनस्वास्थ्य क्षेत्रमा एकै सेवा समूहको सिन्डिकेट तोडियो र स्वास्थ्य सेवा ऐन र निजामती सेवा ऐनमा भएका व्यवस्थाको कार्यन्वयन भएको र अबका दिनमा हेई समूहकोले पनि पेशागत बृत्तिविकासका लागि आफु सक्षम भएमा अवसर प्राप्त गर्न सक्ने अनुभूति भयो।

प्रसङ्ग २
कार्यलयमा काममा व्यस्त थिएँ । मंगलबारको दिन थियो सायद । मोबाइलमा नोटिफिकेशनको ध्वनि गुञ्जियो र मेरो ध्यान त्यतातिर गयो। जसमा एउटा संदेश देखियो, र जुन सामुहिक संदेश थियो त्यो पनि सामाजिक संजालको प्रयोगकर्ता मध्यका एक जनस्वास्थ्य कर्मी मित्रले पठाएका रहेछन् । उक्त्त सन्देशमा थियो, ‘सम्पूर्ण साथीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध मन्त्रिपरिषदको निर्णयवाट १२औं तहमा वढुवा हुनु भएका स्वास्थ्य विभागको महानिर्देशक श्री महेन्द्र श्रेष्ठ ज्यु लाई आज मिति २०७६ फागुन १३, मंगलवार दिउसो ठिक ३ वजे स्वास्थ्य सेवा विभागमा नेफा केन्द्रिय समितिको आयोजनामा वधाई तथा शुभकामना दिने कार्यक्रम राखिएको जानकारी प्राप्त भएको हुँदा सम्पुर्ण जनस्वास्थ्यकर्मी साथीहरु उपस्थित हुनुहुन अनुरोध ।’

उक्त प्रसङ्ग संगैमेल खाने गरि पेशागत र शैक्षिक पृष्ठभूमिका हिसाबले हे ई समुहको पेशागत हकहितका लागि वकालत गर्ने नेपाल जनस्वास्थ्य व्यावसायी संघ (नेफा) का विभिन्न तहका संगठनहरुले विज्ञप्ती निकाल्दै सरकारको कदमको स्वागत गरे। यस संदेशले पनि अघिल्लो दिनकै उमङ्गलाई निरन्तरता दिएको महसुश गरियो र सामान्य रुपमै चित्रण गरियो।

प्रसङ्ग ३
मिति २०७६ फागुन १३, मंगलवार, सन्ध्याकालीन समयमा फेरि एकपटक समाचारहरु हेरियो, जसमा एउटा समाचारले मेरो ध्यान तान्यो। महानिर्देशकका विषयमा विवादित स्वास्थ्य क्षेत्रः डाक्टरको विरोध, जनस्वास्थ्यकर्मीको समर्थन भन्ने समाचार अनलाइन मिडियाहरुमा प्रकाशित भयो।

यसले मलाई पनि च्वास्स घोचे जस्तो महसुस भयो। जसमा नेपालको स्वास्थ्य सेवामा ज हे स। समुहको बारेमा वकालत गर्ने नेपाल चिकित्सक संघ गैर चिकित्सकलाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिएको विरोधमा उत्रेको रहेछ।

उनीहरुको विज्ञप्तिको मुलभूत सारतत्व भनेको चिकित्सक बाहेक अन्य समुहका कर्मचारीलाई नेतृतवको अवसर दिनु भनेको स्वास्थ्य सेवाको अपमान गर्नु हो भन्ने ठहर गर्दै निर्णय नसच्याएमा वा चिकित्सकहरुको स्वार्थ अनुकुल निर्णय लागु नभयमा कडा कडा कदम चल्छौ भनेका छन् ।सरकारको उक्त्त निर्णयले सम्पूर्ण चिकित्सकलाई हतोत्साही गर्ने र स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक प्रभाव परेको भन्दै ध्यानाकर्षण गरेका छन्।

चिकित्सक संघले उक्त निर्णय नसच्याए कडा कदम चालने चेतावनी समेत दिएको छ।

यसर्थ ……..
स्वास्थ्य सेवामा समय समयमा देखिने यस्ता खालका प्रवृति, पेशागत, समुहगत र राजनीतिक लुछाचुडीले हामी जस्ता स्वास्थ्य सेवासंग सरोकार राख्ने युवा पुस्ताले चलिराखेको पद्दतिबाट के सिक्ने वा अपेक्षा गर्ने भन्ने बारेमा ठूलो अस्पष्टता र बिचलन पैदा गर्दछ। हामीलाई लागेको कुरा नेपालको स्वास्थ्य सेवामा विभिन्न समूहहरु कार्यरत छन् भन्ने कुरा यो सेवा अन्तर्गत काम गर्ने कुनै पनि समूहले भुल्नु हुँदैन ।

सबैले नैतिकता र पेशागत अनुसासनको पालना गर्नु पर्दछ भन्ने कुरा सायद सुनाउनु पर्ने कुरा होइन तर स्वास्थ्य सेवा बिभागको नेतृत्व लिने कुरामा डाक्टर मात्र हुनुपर्छ भन्ने कुरा अलि न्यायिक भएन कि ? चिकित्सकहरुले अरु सेवा समूहको विज्ञतालाई नजरअन्दाज गर्दै स्वास्थ्य सेवामा सिन्डिकेट शैलीको अभ्यासलाई अझैँ निरन्तरता दिनखोजेको त होइन ? के विज्ञप्ती जारी गर्ने चिकित्सक संघलाई नेपालको स्वास्थ्य सेवा ऐनले के भनेको छ, थाह थिएन ?

त्यसैले अब भन्नै पर्ने भयो । आदरणीय चिकित्सक साथीहरु नेपालको स्वास्थ्य सेवामा चिकित्सक मात्र नभई जनस्वास्थ्य, नर्सिङ, प्रयोगशाला, फार्मेसी, रेडियोग्राफी, स्वास्थ्य सहायक, आयुर्वेद लगायतका व्यवसायी समूहहरुको महत्वपूर्ण योगदान रहेको छ भन्ने बास्तविकतालाई नभुलौँ । स्वास्थ्य सेवामा कार्यरत कुनै पनि समूहको क्षमता, विशेषज्ञता र आत्मसम्मानमा ठेस नपुर्याई कार्यगत एकता गर्न सकेमा सबैलाई फाइदा हुने कुरा पक्का हो । किनभने सम्पूर्ण व्यवसायीहरुको संयुक्त र अथक प्रयासबाट मात्र नेपालले जनस्वास्थ्यको सुचाङ्क तथा उपचारात्मक क्षेत्रमा महत्वपूर्ण उपलव्धीहरु हासिल भएको हो ।

विगतको नजिरलाई केन्द्रमा राखी आफ्नो पेशागत हितका लागि चिकित्सक संघ लड्नु स्वाभाविक होला तर स्वास्थ्य सेवा र निजामती सेवा ऐनका प्राबधानहरुमा टेकेर सरकारले गरेको निर्णयको यति हल्का ढंगले टिप्पणी गर्नु सुहाउने विषय होईन । बिरोधका लागि बिरोध गर्ने हाम्रो संस्कारको निरन्तरता नगरौँ। नेपाल चिकित्सक संघले बिज्ञप्ति मार्फत गैरचिकित्सक्लाई स्वास्थ्य सेवाको विभागको महानिर्देशकमा नियुक्त गरिनु उपयुक्त नहुने भन्ने कुरा न्यायिक, नीतिगत र तर्क संगत देखिदैन।

अन्तमा,
स्वास्थ्य सेवाको जुनसुकै समूहको भएपनि उसको विशेषज्ञताको सम्मान गरौँ र एक समूहले अर्को समूहको सम्मान गरौँ । एउटा समूहको योग्य व्यक्तिले जिम्मेवारी पाउँदा अर्को समूहले अपमानित महसुस नगरौँ । यसले त आफैलाई कमजोर बनाउछ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *