त्रिभुवन विमानस्थल हेल्थ डेस्कको काम प्रभावकारी देखिएन : हवाई यात्रु

काठमाडौँ, १४ पुस । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कमा चौविसै घण्टा स्वास्थ्यकर्मी राखेर हवाई यात्रुहरुको स्वास्थ्य जाँच गरेको बताउने गरेका छन् । तर एक जना हवाई यात्रुले मन्त्रालयका अधिकारीको उक्त भनाईको खण्डन गरेका छन् ।

कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले विमानस्थलमा कोरोना विरुद्धको सावधानी अत्यन्त कमजोर रहेको बताएका छन् ।

‘म मेक्सिको, फ्रान्स, दुवई हुँदै हिजो बेलुका सवा छ बजे त्रिभुवन विमान स्थलमा अवतरण भएको थिएँ । विमानबाट ओर्लेर इमिग्रेसन भित्र छिर्दै गर्दा हेल्थ डेस्क भनेर लेखिएको व्यानरहरु त देखियो । तर न स्वास्थ्यकर्मी देखियो न त स्वचालित यन्त्रले हामी सबैको जाँच गरेको पाइयो । हाम्रो उडानमा रहेका सबै यात्रुहरु एकैपटक अध्यागमनको लाइनमा आएर बसे,’ डा श्रेष्ठले भने । उनले अगाडी थपे, ‘अरु बेला राम्रो काम भएको होला । तर हामी आउँदा त सावधानी त जिरो नै देखियो । चौविस घण्टे निगरानीमा भनेपछि यात्रुहरु आउँदा त लाइन लगाएर पनि चेक गर्नुृ पर्ने हो नि ।’

तर स्वास्थ्य सचिव खगराज बरालले विमानस्थल हेल्थ डेस्कमा चुस्त रुपमा यात्रुहरुको स्वास्थ्य जाँच भएको बताएका छन् । ‘हामी आज पनि हेल्थ डेस्कको अनुगमन गरेर आएका हौँ । दुईवटा मध्ये एउटा थर्मल स्क्यानर विग्रिएको छ । त्यसैले आउने यात्रुहरुलाई लाइन लगाएर टाढैबाट ज्वरो नाप्न सकिने हाते यन्त्र (इन्फाइरेड थर्मामिटर)द्धारा स्वास्थ्य जाँच गरिएको छ,’ उनले भने ।

सचिव बरालले विमानस्थलस्थित हेल्ड डेस्कमा तीन सिफ्टमा ४ ४ जनाको दरले १२ जना स्वास्थ्यकर्मी खटिएको र चौविसै घण्टा सेवा दिएको दावी गरे ।

‘हामी चौविसै घण्टा सेवा दिइएको छ कि छैन भनेर चेक जाँच गर्न गएका त छैनौँ तर आउँदा खेरी हेल्थ डेस्कको बारेमा जो प्रचार भएको छ काम भएको देखिएन । यो कोरोनाले विश्वव्यापी बन्दै गईरहेको बेला सरकारले आफ्ना निकायलाई विशेष सावधानीका लागि अलर्ट राख्नुपर्छ भन्ने मात्रै मेरो कन्सर्न हो,’ डा श्रेष्ठले भने ।

यसैबीच आजै पनि स्वास्थ्य सचिव बरालको नेतृत्वमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनी लगायतको टोलीले विमानस्थलस्थित हेल्थ डेस्कको निरीक्षण गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *