धादिङको बेनिघाटमा दादुरा ‘आउटब्रेक’ !

काठमाडौँ, १२ फागुन । दादुरा रुवेलाको खोप अभियान शुरु भएकै बेला धादिङको बेनिघाट रोराङ गाउँपालिका – ६ चेपाङ बस्तीमा दादुराको महामारी (आउटब्रेक) भएको छ । एक साता यता सो बस्तीमा रहेका ६ महिना देखि १५ बर्ष उमेर समूहका २७ जनामा दादुरा देखिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले रोराङको चेपाङ बस्तीमा दादुराको महामारी भएको पुष्टि गरे ।

‘लक्षण मिल्दो जुल्दो थियो । त्यहाँबाट चारवटा स्याम्पल झिकाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरायौँ । सो मध्ये दुईवटामा दादुरा पोजेटिभ देखियो,’ डा. गौतमले अगाडी थपे, ‘यसबाट त्यहाँ दादुराको आउटब्रेक भएको भन्ने पुष्टी भयो ।’

उनले १२ जना बालक र १५ जना बालिका गरी २७ जनामा समस्या भएको र त्यसमध्ये २ जना गम्भीरलाई कान्ति बाल अस्पतालमा ल्याइएको र उनीहरु आजै मात्रै निको भएर डिस्चार्ज भएको समेत जानकारी दिए ।

चेपाङ बस्तीमा एक साता अघि देखि नै प्रकोप देखिए पनि केन्द्रमा भने जानकारी केही ढिलो आएको थियो । त्यसैले रेस्पोन्स पनि केही ढिलो भएको हो । तर खबर पाउनासाथ टोली स्थानीय तहमा खटियो ।

जिल्लाका स्वास्थ्यकर्मी, विश्व स्वास्थ्य संगठनको टोली स्थानीय तहमै पुग्यो र उपचार गरयो त्यसैले अहिले अवस्था नियन्त्रणमै छ । डा गौतमले भने, ‘संक्रमणमा परेकाहरु पूर्ण खोपबाट बन्चित भएको समेत पत्ता लाग्यो ।’

खोप केन्द्र बस्तीबाट केही टाढा भएको भन्दै शाखाले सो ठाँउमा नयाँ खोप केन्द्र खोलिएको डा गौतमले बताए ।

सरकारले फागुन र चैत महिनालाई दादुरा रुवेला रोग विरुद्धको खोप अभियान महिनाको रुपमा मनाउँदै छ । सो अन्तरगर्त फागुन महिनामा प्रदेश नं १, २ र ५ मा यो अभियान सञ्चालन गरिएको छ । चैत महिनामा बाग्मती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो अभियान सञ्चालन गर्ने योजना छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *