कान्ति बाल अस्पतालका नवनियुक्त निर्देशक डा. पौडेलले गरे पदवहाली

काठमाडौँ, ११ फागुन । कान्ति बाल अस्पतालका नव नियुक्त निर्देशक डा. कृष्णप्रसाद पौडेलले पदवहाली गरेका छन् । आइतबार विहान अस्पताल पुगेर उनले पदवहाली गरेका हुन् ।

उनलाई पूर्व निर्देशकत्रय डा. अजित रायमाझी, डा. गणेश राई र डा. आरपी बिच्छाले स्वागत गरेका थिए । सो अवसरमा उनीहरुले अस्पतालको विकास र सेवालाई चुस्त बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

नव नियुक्त निर्देशक डा. पौडेलले सरकारको एक मात्रै केन्द्रीय स्तरको बाल अस्पताल कान्तिको सेवालाई चुस्त बनाउन आफ्नो ध्यान केन्द्रीत रहने बताए ।

उनले रोकिएको एक्सटेन्डेड हेल्थ सर्भिस सुचारु गर्ने, आकस्मिक कक्षमा आएका विरामीको बर्गीकरण गर्ने पद्धती ट्रायजलाई कार्यान्वयनमा ल्याउने तत्कालको प्राथमिकता र कान्तिलाई राष्ट्रिय बालरोग अध्ययन् संस्थानमा विकास गर्ने दीर्घकालिन अवधारणा सुनाए ।

सो अवसरमा पूर्व निर्देशक डा. रायमाझीले कान्तिले युवा नेतृत्व पाएको भन्दै अस्पतालको सेवामा सुधार र विकासका लागि आफूहरुको अनुभव र सहयोग सधै रहने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै पूर्व निर्देशक डा . विच्छाले पनि अस्पतालको विकासका लागि आफ्नो तर्फ नयाँ निर्देशकलाई आवश्यक पर्ने सबै सहयोग गर्ने विचार व्यक्त गरे ।

डा पौडेलले अस्पतालका सबै चिकित्सक, नर्स, प्यारामेडिक्स लगायतका सबै स्वास्थ्यकर्मी तथा कर्मचारीको साथ लिएर अस्पतालको सेवामा लाग्ने बताए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गत विहीबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई कान्ति अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *