स्वास्थ्य बीमा बोर्डको अध्यक्ष, कार्यकारी सहित चार सदस्यमाथि मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौँ, ९ फागुन । स्वास्थ्य बीमा कार्यक्रम असफल उन्मुख हुन लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष, कार्यकारी निर्देशक र चार जना बोर्ड सदस्यलाई स्पष्टीकरण सोधेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुलाई सात दिन भित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिनेमा बोर्डका अध्यक्ष डा उमाशंकर प्रसाद, कार्यकारी निर्देशक रमेशकुमार पोखरेल रहेका छन् । यस्तै बोर्ड सदस्यहरु डा सतिशकुमार देव, डा दीपेन्द्रकुमार यादव, डा अनिरा बैद्य र प्रीती रमण छन् । बोर्डमा स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबाट सहसचिवहरु पदेन सदस्य हुने व्यवस्था छ ।

‘पदेन सदस्य बाहेक बोर्डमा नियुक्ति लिएका सबैलाई स्पष्टीकरण सोधिएको छ । विभिन्न ९ बुँदामा स्पष्टीकरण सोधिएको छ । सरकारको प्राथमिकतामा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा उनीहरु उल्टोदिशामा हिडेको भन्दै प्रश्न उठाइएको छ,’  मन्त्रालय स्रोतले भन्यो ।  स्रोतका अनुसार उनीहरुसंग चित्तबुझ्दो जवाफ नपाए बर्खास्ती नै गर्ने योजनामा मन्त्रालय अघि बढेको छ ।

राज्यमन्त्रीको सिफारिसपछि सोधियो स्पष्टीकरण
स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य बीमा कार्यक्रम हेर्नेे जिम्मा राज्यमन्त्री नवराज रावतलाई दिएका छन् । रावतले अघिल्लो विहीबार बीमा बोर्डका अध्यक्ष, कार्यकारी र सदस्यहरुलाई बोलाएर आफ्नै कार्यकक्षमा छलफल राखेका थिए । तर सो छलफल बोर्डका पदाधिकारी र कार्यकारीबीच एक आपसमा आरोपप्रत्यारोप हुँदै झगडामै उत्रिए । ‘कार्यक्रमको बारेमा केही चिन्ता छैन् । उनीहरु त सुविधा पाइएन, आफूलाई यो भएन, त्यो भएन भन्नेमा मात्रै विषय केन्द्रीत गरेर झगडा गर्न थाले । राज्यमन्त्रीको सिफारिसमा मन्त्रीले स्पष्टीकरण सोधेको हो,’ मन्त्रालय स्रोतले अगाडी थप्यो, ‘राज्यमन्त्री रावतले अहिलेको टिमबाट बीमा सफल हुन नसक्ने रिपोर्ट मन्त्री ढकाललाई बुझाएका छन् ।’

नविकरण घट्यो
चितवनमा अघिल्लो बर्ष बीमा आवद्धको संख्या ४ लाख थियो । पछिल्लो बर्ष २ लाख ५० हजार जतिले मात्रै नविकरण गरे । एकै बर्षमा डेढ लाख कम हुनु भनेको बीमा असफल उन्मुख हुनु हो भन्ने निस्कर्षमा मन्त्रालय पुगेको छ ।

स्वास्थ्य सचिव खगराज बराल भन्छन्, ‘राज्यको प्राथमिकतामा राखिएको कार्यक्रम हो तर अहिले सन्तोषजनक रुपमा अघि बढी रहेको देखिएको छैन् । यसलाई जसरी पनि प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि सरकारले केही कदम त चाल्नैपर्छ । र मन्त्रालयले कदम चाल्न शुरु गरेको छ,’ उनले भने ।

यसअघि राज्यमन्त्रीको कार्यकक्षमा भएको बैठकमा सचिव बरालले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सक्नुहुन्न भने जिम्मेवारी मुक्तहुनुस भनेर चेतावनी दिईसकेका थिए ।

डा सतिश देवको राजिनामा
स्वास्थ्य बीमा बोर्डका सदस्य डा सतिशकुमार देवले भने सदस्य पदबाट राजिनामा दिइसकेका छन् । अघिल्लो विहीबारको बैठकमा सचिव बरालसंग विवाद भएपछि डा सतिशले राजिनामा दिएका हुन् । यद्धपी मन्त्रालयले उनको राजिनामा स्वीकृत गरिसकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्य बीमा बोर्डको अध्यक्ष, कार्यकारी सहित चार सदस्यमाथि मन्त्रालयले सोध्यो स्पष्टीकरण

  1. यसलाई जसरी पनि प्रभावकारी बनाउनुपर्छ ।
    कसरी, कसरी अनि कसरी???

Leave a Reply

Your email address will not be published. Required fields are marked *