प्रधानमन्त्री ओलीको मुटुमा समस्या छैन् : प्राडा अरुण सायमी

काठमाडौँ, ६ फागुन । बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीले प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा कुनै समस्या नभएको बताएका छन् । प्राडा सायमीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जियोग्राफी गरेका ओलीको मुटुमा कुनै समस्या नभएका बताएका हुन् ।

प्रधानमन्त्री ओली मुटु परीक्षणका लागि मंगलबार दिउसो करीब साढे ४ बजेबाट महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।

‘अबको केही समयमा उहाँ बालुवाटार फर्किनु हुन्छ । मुटु कस्तो छ भनेर जाँचेका हौँ । राम्रो रहेछ,बलियो रहेछ,’ प्राडा सायमीले भने ।

मुटुको जाँच मिर्गौला प्रत्यारोपणको पूर्व तयारी
प्राडा सायमीले प्रधानमन्त्री ओलीको मुटु परीक्षण समस्या भएर नगरिएको समेत स्पष्ट पारे । केही मिडियामा समस्या भएर परीक्षण गरिएको भन्ने आएको रहेछ । ‘तर त्यस्तो होइन । उहाँको मिर्गौला प्रत्यारोपण गर्ने योजना छ । त्यसैका लागि यो पूर्वतयारी भनौँ । अर्थात उहाँको मुटु कत्तिको स्वस्थ छ । अझ भनौ कत्तिको बलियो छ भनेर जाँच गरेका हौँ । यो पूर्व योजना अनुसार नै हो,’ प्राडा सायमीले भने, ‘हामीले सोचे जस्तै रिपोर्ट राम्रो आयो । नत्र त प्रत्यारोपण गर्नु अघि फेरी मुटुको उपचार गर्नुपर्दथ्यो नि,’ उनले थप स्पष्ट पारे ।

मुटुको जाँच गरेपनि उनले प्रत्यारोपण कहिलो हुन्छ भनेर खुलाएनन् ।’ म मिर्गौलाको डाक्टर होइन मुटुको डाक्टर हो । मैले मुटुको मात्रै भन्छु मिर्गौलाको कुरा थाह छैन,’उनले भने ।

प्रधानमन्त्रीले मिठाई खान बोलाए
मुटु स्वस्थ रहेको रिपोर्ट आएपछि प्राडा सायमीले बेलुका साढे आठ बजे प्रधानमन्त्रीलाई विदाई गर्ने योजना सुनाएर संगैको त्रिवि शिक्षण अस्पताल तर्फ लागेका थिए । तर केही क्षणमै प्रधानमन्त्री ओलीले सहयोगीमार्फत उनलाई बोलाए ।

‘हजुरसंग संगै मिठाई खानु परयो भन्नु भएको छ । छिटो आउनुस रे । सहयोगी राजेश बज्राचार्यले भर्खरै फोन गरेको छ । म त अब मिठाई खान पो जाँदैछु,’मनमोहन अस्पताल अगाडी भेटिएका सायमीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *