चीनमा रहेका नेपालीलाई आइतबार सवेरै स्वदेश ल्याइँदैँ

काठमाडौँ, १ फागुन ।  सरकारले आगामी आइतबार चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ ।

हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज शनिबार अपरान्ह चीन पठाउन लागिएको हो ।

स्वदेश फर्कन चाहने नेपालीलाई निगमको जहाजमार्फत ल्याउने व्यवस्था मिलाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

निगमको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका अधिकारीले निगमको वाइडबडी जहाज फागुन ३ गते चीन पठाउने निर्णय गरी आवश्यक तयारीसमेत भइरहेको बताए ।

चीनको वुहानमा रहेका नेपाली लिन शनिबार अपरान्ह २ः४५ बजे निगमको वाइडबडी जहाज चीन उड्नेछ । उक्त जहाज नेपाली लिएर फागुन ४ गते बिहान २ः१५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । निगमका प्रवक्ता अर्चना खड्काले बजारमा हल्ला छाएजस्तो निगमका पाइलट चीन जान मानेनन् भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै जहाजका सबै कर्मचारी इमान्दारीपूर्वक सेवामा खटिने बताइन ।

सचिव अधिकारीले पनि सरकारले गरेको निर्णयमा राष्ट्रसेवक कर्मचारीले पनि इमान्दारितापूर्वक भूमिका निर्वाह गर्नुपर्ने दायित्व भएको उल्लेख गरे ।

नेपालीलाई लिन को को जाँदैछन् चीन ?

बुहान जाने टोलीमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने जनाइएको छ ।

हुवेई प्रान्तको विभिन्न शहरमा रहेका नेपाली विद्यार्थीलाई वुहानमा भेला गरिनेछ । चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनेछ । त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् ।

चीनको हुवेइ प्रान्तको वुहानलगायत शहरबाट १८० नेपालीले स्वदेश फर्कन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । चीनको वुहान प्रान्तमा सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक कोरोना भाइरस पत्ता लागेको थियो ।

चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ ।

पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *