कोरोना क्वारेन्टाइनको तयारी : चीनबाट ल्याइने नेपालीलाई राखिदैछ यसरी

  • रमेश गिरी

काठमाडौँ, १ फागुन ।  सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य विभागले बुधबार चाँगुनारायण नगरपाकिालमा आयोजना गरेको पत्रकार सम्मेलन एवं अन्तक्र्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार क्वारेन्टाइनमा ६० कोठामा १८६ बेड राखिएका छन् । प्रत्येक बेड एक मिटरको ‘ग्याप’मा राखिएको छ । ६ जनाले एक शौचालय प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । त्यहाँ दुई सय ५० जनासम्म अटाउन सक्ने बताइएको छ ।

कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायसँग समन्वय गरी कार्य गरिरहेको जनाएको छ । चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीलाई स्वदेश फर्काउने सन्दर्भमा खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण गरेको क्वारेन्टाइनमा सङ्क्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर वासुदेव पाण्डेले बताए ।

स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट्र, शहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको समन्वयमा काम भइरहेको उनले जानकारी दिए । चीनबाट ल्याइने नेपालीमा भाइरसको सङ्क्रमण नहुने दाबी गर्दै उनले अन्तर्राष्ट्रिय मान्यता अनुसार क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको बताए ।

चालकदलका सदस्यलाई र प्राविधिकलाई नगरकोटमा राखिने

चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेजलगायतलाई भने नगरकोटको खानेपानी तालीम केन्द्रमा राखिने भएको डा पाण्डेले बताए । क्वारेन्टाइनमा उपयोग गरिने तालीम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानको उचित सङ्क्रमण रोकथाम व्यवस्था गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा फडिन्द्रप्रसाद बरालले बताए ।

एयरपोर्टमा पाँचवटा हेल्थ डेस्क, खरिपाटी लैजान पाँचवटा बस

क्वारेन्टाइनमा रहेका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग लागेको शङ्का हुनासाथ उपचारका लागि अस्पतालमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताइएको छ । डा बरालले चीनमा स्वास्थ्यपरीक्षण गरेर सङ्क्रमण नभएकालाई ल्याउने र एयरपोर्टमा पुनः स्वास्थ्य जाँच गरी त्यहाँबाट पाँचवटा बसमा हालेर खरिपाटीको क्वारेन्टाइनमा राखिने उनले बताए ।

क्वारेनटाइनमा दुईवटा भवनमा पुरुष, एक वटा रातो भवनमा महिला र निर्देशकको क्वाटरमा एक जना डाक्टर र एक जना नर्सलाई राख्ने गरी व्यवस्था गरिएको उनले जानकारी दिए । प्रत्येक दिन क्वारेन्टाइनमा बस्नेको ज्वरो नाप गरिने र ज्वरो एवं रुघा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टेकु अस्पताल लैजाने व्यवस्था गरिएको बताइएको छ ।

सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका एक सय ८० नेपाली लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । जहाजमा एक चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ । उनीहरूसहित चीनबाट ल्याइएका नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मी र चीन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले तालिम दिइसकेको छ ।

स्थानीय निकायको विरोध कायमै

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सरकारसँग प्राधिकरणको खेर गएको एउटा भवन वा जग्गा नगरपालिकाको भवन निर्माणलाई दिन वा मानव अङ्ग प्रत्यारोपण केन्द्रको डायलोसिस केन्द्र बनाउन दिन माग गर्दा नदिने तर जोखिम भएका व्यक्तिलाई राख्न भने यही ठाउँ रोज्नु गलत भएको बताए ।

कार्यक्रममा सहभागी वडाध्यक्षहरुले भने कार्यक्रम बहिष्कार गरेको बताउँदै केन्द्रीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरी लाद्ने प्रयास गरेको भन्दै जनताको भावनाको कदर गर्न आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले स्थानीय बासिन्दाका लागि खरिपाटीस्थित सामुदायिक भवनमा नेपाली सेनाको एक, भक्तपुर अस्पतालको एक गरी दुई चिकित्सक सहितको टोलीले स्थानीय नागरिकको पनि निःशुल्क स्वास्थ्य परीक्षण एवं उपचार गरिने बताउँदै स्थानीयवासीमा सङ्क्रमण भए सरकारले जिम्मा लिने बताइन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *