जुगलमा देखिएको कोरोना होइन मौसमी रुघा : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ३ गुम्वामा देखिएको स्वास्थ्य समस्या कोरोना भाइरसको नभएको स्पष्ट पारेको छ ।

गाँउपालिकाले गुम्वामा कोरोनाभाइरसको जस्तै लक्षण मिल्ने रोग देखा परेको भन्दै मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।

स्वास्थ्य सचिव खगराज बरालले नेपाली हेल्थसंग कुरा गर्दै जुगल गाउँपालिकाको गुम्बामा देखिएको भनेको स्वास्थ्य समस्या साधारण मौसमी रुघाखोकी भएको बताए ।

‘यो कोरोनाको त्रासले त्यहाँ पनि समस्या पारेको पाइयो तर त्यस्तो होइन । हाम्रा स्वास्थ्यकर्मीहरुले त्यहाँ विरामीहरु हेरिराख्नु भएको छ र उहाँहरुले सिजनल फ्लु भएको बताउनु भएको छ,’ उनले भने ।

अहिले स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका स्वास्थ्य सुपरभाइजर पार्थमणि न्यौपाने, गाँउपालिकाका स्वास्थ्यसंयोजक अनिल साउत लगायतका स्वास्थ्यकर्मीहरु मन्त्रालयको सम्पर्कमा रहेर काम गरीरहेको बताउँदै नयाँ खास ठूलो समस्या नभएको सचिव बरालले बताए ।

यो समस्या २३ माघ देखिको रहेछ । अहिलेसम्म करीव १५० जनामा समस्या देखिएको पाइयो । अधिकांशमा रुघा खोकी र ज्वरो आएको रहेछ । सचिव बरालले अगाडी थपे अधिकांश व्यक्तिहरुमा सिनजल फ्लु देखिएको छ । अहिले सिन्धोपाल्चोक जिल्ला स्वास्थ्य, प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरु र प्रदेश सरकारबाट ल्याव टेक्निसियन पठाएको बताए ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घाँटीको नमुना थ्रोट स्वाव लिनका लागि आवश्यक किटहरु पठाएको बताएको छ । महाशाखाका निर्देशक डा विवेककुमार लालले थप परीक्षणका लागि केही किटहरु पठाइएको जानकारी दिए । ‘अहिले कोरोनाभाइरसको चर्चा छ, कतिपयमा एक खालको त्रास पनि छ । तर गुम्बाको स्वास्थ्य समस्या अर्कै हो । यो सिजनल फ्लु हो,’ उनले भने ।

यता बाग्मती प्रदेश सरकारले जुगलमा देखिएको स्वास्थ्य समस्या नियन्त्रणका लागि आवश्यक कदम चालिसकेको बताएको छ । बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले फेसबुकमार्फत जानकारी दिँदै त्यहाँ देखिएको स्वास्थ्यसमस्या मौसमी रुघा भएको र कोरोना नभएको बताएका छन् । उनले नियन्त्रणका लागि आवश्यक स्वास्थ्यकर्मी खटिइसकेको जानकार दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *