राजमार्ग छेउका ५४ वटा स्वास्थ्य चौकीमा ट्रमा कर्नर बनाइने

काठमाडौँ, २९ माघ । बढ्दो क्रममा रहेको सडक दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिकम गर्न सरकारले ठूला राजमार्गको छेउमा ट्रमा कर्नरहरू स्थापना गर्ने भएको छ। सडक दुर्घटनामा परेकाहरुलाई तत्काल प्राथमिक उपचार र आवश्यक परे ठूला अस्पतालमा पठाउने गरी राजमार्ग नजिक रहेका स्वास्थ्य केन्द्रहरूमा ट्रमा कर्नर स्थापना गर्ने भएको हो ।

यही आर्थिक वर्ष देखि ‍सञ्चालनमा आउने ट्रमा कर्नर संचालनको लागि हाल कार्यविधि बनाउने काम अन्तिममा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल मन्त्रालयले पहिलो चरणमा मुख्य राजमार्गका छेउमा रहेका ५४ वटा स्वास्थ्य संस्थामा ट्रमा कर्नर निर्माण गर्ने प्रस्तावनाको तयारी गरेको छ ।

प्रस्तावित कार्यविधि अनुसार, निर्माण हुने ट्रमा कर्नरमा प्रत्येक संस्थाबाट कम्तिमा एक जना स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिई ट्रमा कर्नर संचालन गरी ट्रमा उपचार सेवा विस्तार गर्ने प्रकृया अगाडी बढाउनेछ। सरकारले ट्रमा कर्नर विस्तारको लागि १ करोड ६ लाख ३० हजार रुपैयाँ बजेट छुट्याईएको छ।

उक्त रकमबाट ट्रमा कर्नर स्थापनाको लागि प्रति एक स्वास्थ्य संस्था १ लाख ७० हजार रुपैयाँको दरले एकानब्बे लाख असी हजार सम्बन्धित स्थानीय तहलाई उपलव्ध गराउने र बाँकी रकम १२ लाख ८० हजार रुपैयाँ अभिमुखीकरण तालिम र अनुगमनको लागि बिनियोजन गरिएको प्रस्तावनामा उल्लेख छ। कार्यविधि लागु भएसँगै ट्रमा कर्नरको निर्माण कार्य तुरुन्तै थालनी हुने प्रस्तावनामार्फत मन्त्रालयले जनाएको छ।

धादिङमा छुट्टै ट्रमा सेन्टर स्थापना गरिने

यसैबीच धादिङको गजुरीमा ट्रमा सेन्टर बनाउने योजना अघि सारिएको छ । संघीय राजधानी आउने मुख्य राजमार्ग र धेरै दुर्घटना हुने थानकोट देखि मुङ्लिनकोबीचमा पारेर गजुरीमा विशेष सुविधा सहितको ट्रमा सेन्टर आगामी बर्ष सम्म स्थापना गर्ने योजना अघि सारिएको हो ।

त्यसबाहेक सोही राजमार्गमा पर्ने चितवनको इच्छाकामना गाउँपालिमा रहेको दाह्रेचोक स्वास्थ्य चौकी धादिङ गल्छी गाउँपालिकाको बैरेनी स्वास्थ्य चौकी, धादिङ बेनिघाट रोराङ गाउँपालिकाको बेनीघाट स्वास्थ्य चौकीमा समेत ट्रमा कर्नर सेन्टरको रुपमा रुपान्तरण गर्ने भएको छ।

त्यसैगरी सुर्खेतको राकममा आगामी राजमार्गमा पर्ने स्वास्थ्य संस्थामा स्थापना गरिएको चोटपटक लागेका नेपालको विरामीहरूले आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने तथा आकस्मिक उपचार सेवा प्राप्त गर्ने उद्देश्यका साथ ट्रमा कर्नर विस्तार गर्न लागिएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिमका चार जिल्लामा ट्रमा कर्नर स्थापना हुने

सुदूरपश्चिमका चार जिल्लाका विभिन्न चार स्वास्थ्य संस्थामा ट्रमा कर्नर स्थापना हुने भएका छन् । दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी  सरकारले सुदूरपश्चिमका बैतडी, बझाङ, डोटी र बाजुरामा ट्रमा कर्नर स्थापना गर्ने तयारी गरेको हो ।

बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकी, बझाङको बित्थडचीर गाउँपालिकास्थित देउलेख प्राथमिक स्वास्थ्य केन्द्र, डोटीको जोरायलस्थित छतिवन स्वास्थ्यचौकी र बाजुराको बूढीगङ्गा नगरपालिकास्थित बह्मतोला स्वास्थ्यचौकीमा ट्रमा कर्नर स्थापना गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी राजमार्ग नजिक रहेका यी स्वास्थ्य केन्द्रलाई ट्रमा कर्नरको व्यवस्थाको रूपमा विकास गर्ने भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

दुर्घटनामा परेकाहरुलाई तत्काल स्वास्थ्य सेवा दिन र उनीहरुलाई सुरक्षितरूपमा अस्पतालमा पु¥याउने काममा सहयोग गर्न ट्रमा कर्नरले भूमिका निर्वाह गर्नेछ । उनले भने, “ट्रमा कर्नरको स्थापनाले दुर्घटनाका कारण ज्यान जानेको सङ्ख्यामा कमी आउनेछ ।”

राजमार्गमा पर्ने स्वास्थ्य संस्थामा स्थापना गरिएको ट्रमा कर्नरमा चोटपटक लागेका नेपालका बिरामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने तथा आकस्मिक उपचार सेवा प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *