सुदूरपश्चिम प्रदेशमा अन्धोपनको सर्वेक्षण सुरु


अत्तरिया, २८ माघ । कैलालीको गेटा आँखा अस्पतालले सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण सुरु गरेको छ । कैलाली, डडेल्धुरा र डोटीमा आँखाका बिरामीको अवस्था, आँखा रोग सङ्क्रमणलगायतका विषयमा तेस्रो पटक अन्धोपनको सर्वेक्षण सुरु गरेको हो ।

अस्पतालका व्यवस्थापक रमेशचन्द्र भट्टका अनुसार प्रदेशका नौ वटै जिल्लाका १३२ स्थानमा अन्धोपनको सर्वेक्षण गरिनेछ । आँखा अस्पतालले अन्धोपन सर्वेक्षणका लागि नेत्र विशेषज्ञको नेतृत्वमा तीन वटा टोली गठन सर्वेक्षणको कार्य थालनी भइसकेको उनले जानकारी दिए ।

पचास वर्ष उमेरमाथिका जनसङ्ख्यालाई समेटेर अन्धोपन सर्वेक्षण गरिने उनको भनाइ छ । उनले नेपालमा कुल अन्धोपनमध्ये ८२ प्रतिशत ५० वर्षमाथि उमेर समूहका व्यक्ति रहने गरेका कारण तेस्रो पटकको अन्धोपन सर्वेक्षणमा सोही समूहलाई लक्षित गरिएको बताए ।

सर्वेक्षणका लागि छनोट भएका प्रत्येक स्थानमा ३५ जनाको आँखा परीक्षण, मधुमेह तथा दृष्टिदोषको कारणलगायतबारे सर्वेक्षण गरिनेछ । यस पटकको अन्धोपनको सर्वेक्षणमा चार हजार ६२० जनालाई समावेश गरिने लक्ष्य रहेको जनाइएको छ ।

गेटा आँखा अस्पतालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दृष्टिदोषबारे पनि सर्वेक्षण गरेको जनाएको छ । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ वटा विद्यालयमा पाँच देखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई समावेश गरेर दृष्टिदोषबारे सर्वेक्षण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सन् १९८१ मा अन्धोपनको सर्वेक्षण गरिएको थियो । त्यतिबेला सेती अञ्चलमा एक दशमलव दुई प्रतिशत र महाकाली अञ्चलमा शून्य दशमलव आठ प्रतिशत जनसङ्ख्यामा अन्धोपना देखापरेको र त्यसको मुख्य कारण मोतिविन्दु रहेको थियो भने दोस्रो कारण ट्रकोमा रहेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *