जाजरकोटमा चार महिनादेखि दन्तसेवा बन्द

  • हेमन्त केसी

जाजरकोट, २८ माघ ।  जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि आउने बिरामी यतिबेला उपचार नपाएर फर्कने गरेका छन् । उपचार नपाउँदा बिरामी हजारौँ खर्चेर जिल्ला बाहिर जान बाध्य छन् ।

अस्पतालमा कार्यरत डा निशा बुढामगर नहुँदा चार महिनादेखि दन्तसेवा ठप्प छ । बुढाबाहेक दन्तसेवामा अरु स्वास्थ्यकर्मी छैनन् । उहाँ सुत्केरी बिदामा बसेपछि सेवा नै ठप्प हुन पुगेको हो ।

सामान्य खालका शल्यक्रिया गर्ने, शल्यक्रियासहितको प्रसूति सेवा दिने भनेर गत वर्ष अस्पताल आएका एमडीजिपी डा महेश सिलवाल केही समयअघि जिल्ला छाडेर गएपछि शल्यक्रियाका सबै सेवा बन्द भएका छन् ।

स्वास्थ्य मन्त्रालयको छात्रवृत्ति कोटामा दुई वर्षका लागि करारमा नियुक्त भएर आएका उनी एक वर्ष बिताएर फर्किएका हुन् । अस्पतालमा आवश्यक पूर्वाधार नभएको, बेहोस बनाउने एनेस्थेसिया स्वास्थ्यकर्मी नभएपछि दिक्क भएर आफू फर्किएको उनले बताए ।

सात विशेषज्ञ चिकित्सकसहित ६५ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा १८ स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । छात्रवृत्ति करार सेवामा कार्यरत मेडिकल अधिकृतले दुई वर्षअघिको अतिरिक्त सेवाको भत्ता नपाएपछि काम गर्न जाँगर मारेका छन् ।

छात्रवृत्ति करार सेवामा चार जना चिकित्सक कार्यरत छन् । लामो समयदेखि उनीहरुले काम गरेको अतिरिक्त भत्ता नपाएपछि भिडियो एक्सरे सेवा बन्द गरिदिएका छन् । ल्याव सेवामा पनि स्वास्थ्यकर्मी नहुँदा बन्द छ ।

अस्पताल विकास समितिबाट पाउनुपर्ने अतिरिक्त समय काम गरेको भत्ता नपाउँदासम्म विरोधस्वरुप आफूहरुले भिडियो एक्सरे सेवा नदिने निर्णय गरेको डा भूपेन्द्रप्रकाश मल्लले बताए । यसरी विस्तारै धेरै सेवा बन्द हुँदै गएपछि सेवाग्राही स्थानीयवासी मर्कामा परेका छन् ।

अस्पतालमा कार्यरत अति न्यून सङ्ख्याका स्वास्थ्यकर्मी पनि उपकरण पूर्वाधार र विशेषज्ञ ज्ञानको अभावले सामान्य जाँच गरेर औषधि दिने र सिफारिस गर्नेबाहेक अन्य सेवा प्रवाह गर्न सकिरहेका छैनन् । स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अस्पतालको सेवा अस्तव्यस्त भएको स्वीकार गरे ।

“विशेषज्ञ चिकित्सकको पदपूर्ति हुँदैन । अन्य स्वास्थ्यकर्मी पनि रित्तिँदै गएका छन् । नयाँ पदपूर्ति हुँदैन, कसरी सेवा प्रभावकारी बनाउने”, उनले भने, “करीब रु पाँच लाख चिकित्सकहरुले अतिरिक्त काम गरेकै दिन बाँकी छ । उहाँहरुले भिडियो एक्सरे सेवा बन्द गरेर असन्तुष्टि जनाउनुभएको छ । कसरी समाधान गर्ने ?”

चार वर्षअघि १५ श्ययाबाट ५० श्यया बनाइएको जाजरकोट अस्पतालमा स्वास्थ्य सेवा व्यवस्थापक, बालरोग, स्त्रीरोग, बेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी सात विशेषज्ञ, तीन मेडिकल अधिकृत र आयुर्वेद चिकित्सकको दरबन्दी रिक्त छ ।

त्यस्तै फिजियोथेरापी सहायक, मेडिकल ल्याव टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक तीनै जना रिक्त रहेका छन् । स्टाफ नर्स आठमध्ये सात रिक्त छन् ।

पब्लिक हेल्थ नर्स, ल्याव टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याव असिस्टेन्ट, र अहेव तीन जनाको दरबन्दीमा तीनै जना रिक्त रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख जैसीले बताए । उनले पदपूर्तिका लागि सम्बन्धित निकायमा पहल गरे पनि सुनुवाइ हुन नसकेको गुनासो गरे ।

अस्पतालमा भरपर्दो सेवाप्रवाह हुन नसकेपछि एक महिनाको अवधिमा एक जना पनि बिरामी भर्ना गरिएको छैन । फार्मेसीमा कतिपय अत्यावश्यक औषधिसमेत छैन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *