त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपणमा चौथो सफलता

काठमाडौँ, २५ माघ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले चौथोपटक कलेजो प्रत्यारोपण गरेको छ ।  शुक्रबार काठमाडौँ बौद्धका ५७ वर्षीय बुबालाई २७ वर्षकी छोरीको कलेजो प्रत्यारोपण गरिएको कलेजो प्याङक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीले जानकारी दिए ।

डा. भण्डारीका अनुसार कलेजो प्रत्यारोपण गर्न झण्डै नौ घण्टा लागेको थियो । ‘हिजो मध्यान्न १२ बजेबाट शुरु गरेका हौँ झण्डै ९ बजे सकिएको थियो । अहिले बाबुछोरीकै स्वास्थ्य अवस्था स्थिर रहेको छ,’ उनले भने ।

डा भण्डारीको टोलीले भारतको दिल्लीस्थित फोर्टिक्स अस्पतालबाट आएका प्रत्यारोपण सर्जन को सहयोगमा प्रत्यारोपण गरेको हो ।

त्रिवि शिक्षण अस्पतालमा १८ जेठका दिन पहिलो कलेजो प्रत्यारोपण भएको थियो । त्यसपछि ३ साउनमा दोस्रो र १ कात्तिकमा तेस्रो पटक कलेजो प्रत्यारोपण गरिएको थियो ।

पहिलो प्रत्यारोपणमा छोरीले बाबुलाई दिएकी थिइन, दोस्रो प्रत्यारोपणमा ज्वाँईले ससुरालाई, तेस्रो प्रत्यारोपणमा छोराले बाबुलाई र यो चौथो प्रत्यारोपणमा पुन छोरीले बाबुलाई कलेजो दान गरेका हुन् ।

कलेजो प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा करीब २५ लाख रुपैयाँ खर्च हुने डा भण्डारीले बताए ।

परिवारभित्रको र नजिकको नातेदारले मात्र कलेजो दान गर्न सक्नेछन् । उहाँका अनुसार १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।

नेपालमा कलेजो प्रत्यारोपणको सुरुवात भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट भएको हो । अहिलेसम्म सो केन्द्रले पाँचौ कलेजो प्रत्यारोपण भएको जनाएको छ ।

कलेजो प्रत्यारोपणका लागि उपत्यका बाहिरका कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) भरतपुर र चितवन मेडिकल कलेज भरतपुरले समेत लाइसेन्स पाएको छ । यद्धपी ती मेडिकल कलेजहरुले यो सेवा शुरु गरेका छैनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *