चिकित्सक संघको निर्वाचनमा मतगणना विवाद : सर्वपक्षीय भेला गर्दै निर्वाचन समिति

काठमाडौँ, २३ माघ । नेपाल चिकित्सक संघको निर्वाचन पछि मतगणनाको विषयमा देखिएको विवाद टुंग्याउन निर्वाचन समितिले सर्वपक्षीय बैठक बोलाएको छ । संघको केन्द्रीय कार्यालयमा अहिले दिउसो ३ बजेका लागि बैठक बोलाइएको प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले बताए ।

बुधबार (हिजो) विहान ८ बजे देखि शुरु हुने भनिएको मतगणना विवादमा परेपछि अहिलेसम्म शुरु हुन सकेको छैन् । हिजो दिनभरको प्रयासपछिको बेलुका गणना शुरु गर्न लागिएको थियो । तर मतपत्रको विषयमा पुन विवाद भएपछि अघि बढ्न सकेन ।

निर्वाचन समितिले विवादकाबीच गणना नहुने भन्दै अनिश्चित कालका लागि मतगणना कार्य स्थगित भएको सूचना जारी गरेको छ ।

प्रमुख निर्वाचन अधिकृत डा मरासिनीले आज बैठकमा सहमति गर्ने प्रयास हुने तर सहमति भएन भने पनि शुक्रबार विहान ११ बजेबाट मतगणना अघि बढाउने योजना रहेको बताए ।

संघको २८ औं केन्द्रीय कार्यकारिणी समिति ( २०७६ – ०७९ कार्यकाल)का लागि लागि भएको निर्वाचन गत मंगलबार ४ बजे सम्पन्न भएको थियो । तर संघको निर्वाचन सम्पन्न भएको ४७ घण्टा पुगिसक्दा समेत मतगणना हुन सकेको छैन ।

यसपटक पेशागत समावेशी समूहबाट डा पुष्पमणि खराल र लोकतान्त्रिक समूहबाट डा लोचन कार्कीको प्यानल प्रतिस्पर्धामा छ । महासचिव पदमा भने प्यानल बाहेक दुई जनाले स्वतन्त्र उम्मेद्धारी दिएका छन् ।

निर्वाचनमा ६ हजार १५२ भोट खसेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *