चीनबाट नेपाली ल्याउन कम्तीमा दुई दिन लाग्ने

काठमाडौँ, २० माघ ।  चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै कम्तिमा दुई दिन लाग्ने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्र श्रेष्ठले सो जानकारी दिएका हुन् ।

उनका अनुसार चीनबाट ल्याइने नेपालीलाई राख्ने ठाँउको प्रवन्ध अझै मिलिसकेको छैन् । मंगलबारसम्ममा ठाँउको प्रवन्ध मिलेपछि सम्भवत बुधबार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइने छ ।

‘चीनको हुवेई प्रान्तबाट झण्डै दुई सय जना नेपालीले स्वदेश फर्कन फारम भरेका छन् । उनीहरुलाई ल्याएपछि झण्डै दुई साता क्वारेन्टाइनमा राख्नुपर्छ । त्यो ठाँउ कहाँ उपयुक्त हुन्छ भन्ने कुरा सम्भवत भोलि बेलुकासम्म टुंगो लाग्छ । त्यसपछि बुधबार त उहाँहरुलाई ल्याउन सकिन्छ सायद,’ श्रेष्ठले भने ।

उता बेईजिङस्थित नेपाली दुतावासले स्वदेश फर्कन चाहने नेपालीलाई आइतबार विहान ९ बजेसम्म फारम भर्न आग्रह गरेको थियो । सो अवधीमा १८० जना नेपालीले स्वदेश फर्कन फारम भरेका छन् ।

यता पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नेपालीलाई रेस्क्यु गर्न जान विमान तयारी अवस्थामा रहेको जनाएको छ ।
‘अहिले परराष्ट्र र स्वास्थ्यको समन्वयमा काम हुँदैछ सायद । त्यताबाट टुंगिनासाथ हामी त विमान पठाउन तयारी नै छौँ,’ पर्यटन सचिव केदारबहादुर अधिकारीले भने ।

नयाँ कोरोना भाइरसबाट चीनमा आइतबार बेलुकासम्म ३६१ जनाको मृत्यु भइसकेको छ । सो भाइरसको संक्रमणमा पर्नेको संख्या १७ हजार नाघेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *