स्तन क्यान्सरले छट्पटिएकी पुम्फाको उपचारको बाटो खुल्यो

जुम्ला १५ माघ । ‘स्तन क्यान्सर’ले छट्पटिएकी  तातोपानी गाउँपालिका–२ जुम्ला जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमाईको उपचारको बाटो खुलेको छ । आर्थिक अवस्था कमजोर भएको कारणले उपचारबाट बन्चित भएको खबर सार्वजनिक भएपछि नै उनको उपचारको बाटो खुलेको हो ।

समाचार सार्वजनिक भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले उनलाई लिन घरसम्म एम्बुलेन्स पठायो । प्रतिष्ठानका डा सूर्यमान लिम्बूले उनको प्रारम्भिक जाँच गरे र थप उपचारका लागि भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रिफर गरे ।

“उहाँमा क्यान्सर हो कि होइन ? त्यसको निश्चित गर्न मासु झिकेर हेर्नुपर्ने (बायप्सी गर्नुपर्ने) हुन्छ । त्यो यहाँ छैन । त्यसैले भरतपुर रिफर गरेको हो । डा लिम्बूले अगाडी थपे, “यद्यपि छ महिनासम्म घाउ निको नभए क्यान्सर हुने नै प्रबल सम्भावना हुन्छ ।” बायाँ छातीको स्तनको बिग्रँदो अवस्थालाई हेर्दा क्यान्सरको सङ्केत गरेको समेत उनले जानकारी दिए ।

प्रतिष्ठानले भरतपुर जान पुम्फा र एक जना सहयोगीको लागि हवाई भाडा समेत उपलव्ध गराएको रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

प्रतिष्ठानले मात्रै होइन । उनको उपचारका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रजिअ दुर्गा बञ्जाडेले रु पाँच हजार सहयोग गरेकी छन् । त्यस्तै भारतमा काम गरिरहेका नरी परियारले प्रवासबाट पुम्फाको उपचारका लागि रु २० हजार नगद सहयोग गरेको पुम्फाका आफन्त सागर परियारले जानकारी दिए ।

उनका अनुसार जुम्ली सेवा समाज काठमाडौँले रु नौ हजार ४६०, काञ्जिरोवा होटल जुम्लाका प्रोपाइटर नुर्व लामाले रु पाँच हजार, तातोपानी गाउँपालिका–२ जुम्ला निवासी सरस्वती बमले रु दुई हजार र देपालगाउ जुम्लाका उमा क्षेत्रीले रु एक हजार पुम्फाको उपचारका लागि नगद सहयोग गरेका छन् ।

“विभिन्न क्षेत्रबाट आजसम्म करीब रु ५० हजार नगद सहयोग भएको छ । अब उहाँलाई आजै अपराह्न २ बजे तल झारिनेछ”, परियारले भने, “क्यान्सर अस्पताल भरतपुरले पनि पुम्फालाई निःशुल्क उपचार दिने विश्वास दिएको छ ।”

यता भरतपुर क्यान्सर अस्पताल चितवनका डा तोसीमा कार्कीले जतिसक्दो सहज ढंगले पुम्फाको उपचार प्रक्रिया अघि बढाउने बताइन । उनले भनिन्, ‘पहिले त उहाँ आइपुग्नु पर्यो । त्यसपछि उहाँको घाउ परीक्षण गर्छौ, त्यसपछि आवश्यकता अनुसार किमो, रेडियो थेरापी अघि बढाउँछौँ ।’ रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *