कोरोना भाइरस उपचार : सैनिक अस्पतालसंग समन्वय गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १४ माघ । चीनसहित विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढ्दै नेपालले पनि आफ्नो तयारीलाई बढाएको छ । स्वास्थ्य मन्त्रालयले टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल बाहेक अन्य अस्पताललाई पनि तयारी अवस्था रहन भनेको छ ।

अझ् मन्त्रालयले छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बन्दै गरेको ओपिडी भवनलाई तत्कालका लागि आइसोलेसन वार्डको रुपमा प्रयोग गर्ने कि भनेर सम्भाव्यता अध्ययन समेत गरेको छ ।

प्रिफ्याव मोडलमा बन्दै गरेको सो भवनमा एक सय भन्दा बढी संक्रमित राख्नु परे पनि सम्भव हुने मन्त्रालयको टोलीको निस्कर्ष छ । स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दीपेन्द्र रमण सिंहको टोलीले आजै छाउनी अस्पतालको निरीक्षण समेत थियो ।

‘हामीले बैकल्पिक तयारीस्वरुप विभिन्न अस्पतालको निरीक्षण गरेका हौँ । त्यसक्रममा तत्काल संक्रमितको संख्या ठूलो भयो भने कुन कुन ठाँउमा आइसोलेसन वार्ड बनाउन मिल्छ भनेर निरीक्षण गर्दा एउटा विकल्प त्यहाँ पनि देखियो,’ उनले भने ।

उता छ बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको टेकु अस्पतालले थप पचास जना विरामी आएपनि आफूले त्यसलाई व्यवस्थान गर्न सक्ने मन्त्रालयका अधिकारीलाई बताएको छ । ‘अहिले सरुवा रोगको विरामी खासै छैनन् । आवश्यक परयो भने भएका विरामीलाई तल सारेर माथिल्ला तलालाई आइसोलेसन वार्डको रुपमा सञ्चालन गर्न सकिन्छ भन्नु भएको छ । त्यो ठिकै पनि लाग्यो,’निरीक्षणमा गएका अर्का सहसचिव डा गुणराज लोहनीले बताए ।

शिक्षण अस्पतालमा पनि आइसोलेसन वार्ड बनाउने तयारी
यता महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले पनि छ बेडको आइसोलेसन वार्ड बनाउने तयारी गरेको छ । शिक्षण अस्पतालका विपत व्यवस्थापन इकाइ संयोजक प्राडा प्रदीप बैद्यले तत्कालका लागि कुनै उपयुक्त वार्डलाई परिवर्तन गरी छ बेडको आईसोलेसन वार्ड बनाउने तयारी गरेको बताए ।

‘अहिले नै नयाँ भवन बनाउन सम्भव छैन तर विरामी आईहाल्यो भने के गर्ने ? त्यसैले कुनै वार्डलाई अन्यत्र सिफ्ट गरेर छ बेड जतिको आइसोलेसन वार्ड बनाउने योजनामा लागेका छौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *