स्तन क्यान्सरले छट्पटिदै पुम्फा सहयोग गर्न आग्रह


जुम्ला, १२ माघ । तातोपानी गाउँपालिका–२ जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमाइले पैसा नभएपछि स्तन क्यान्सरको उपचार गराउन सकेकी छैनन् ।

उनी तीन वर्षदेखि क्यान्सरको पीडाले छटपटिइरहेकी छन् । “ पहिले सानो घाउ थियो, त्यही बेला उपचार भएको भए पीडा खेप्नुपर्ने थिएन होला । घरमा कोही पनि पढेलेखेका नहुँदा आफ्नो समस्याप्रति वास्तै गरिएन ।”उनले गहभरि आँशु पार्दै भनिन् । भारतमा उपचार गर्न जाँदा क्यान्सर भएको र शल्यक्रिया गर्नुपर्छ भनेपछि पैसाको अभावले उनलाई फर्काइएको आफन्तले जनाएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः उपचारका लागि लैजाँदा जुम्लामा उपचार सम्भव जानकारी दिइएको थियो । उनका जेठो नाति कैलाश दमाईले भने, “ उपचार भारतको लखनऊमा हुन्छ भनेका छन् । त्यसका लागि करीब रु तीन÷चार लाख रकम लाग्छ । केही रकम आफूले छुट्याएपछि केही प्रतिष्ठानले सहयोग गर्ने भनेको छ । तर घरको सबै धन सम्पत्ति बेच्दा पनि रु तीन÷चार लाख रकम पुग्दैन । कसरी हजुरआमाको उपचार गरौँ । ”

उनका श्रीमान् खड्के दमाईको २० वर्ष पहिला मृत्यु भएको थियोे । उनको पीडामा मल्हम लगाउन अघिपछि कोही पनि छैनन् । घरमा रहेका तीन नातिको दयनीय अवस्थाले उनको उपचार सम्भव भएन ।

“घरमा छ महिना खाना पनि धौधौ छ, अब मर्नुको विकल्प छैन उनले भनिन्,“ बाँच्ने रहर हुँदा पनि आर्थिक अभावले म गल्दै छु । सरकारले दिने गरेको सामाजिक सुरक्षाभत्ताले औषधि किन्नै ठिक्क छ । दुखाइले नछटपटिएको कुनै दिनरात छैन । ” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *