पाँचखाल नगरपालिका मोतियाविन्दु मुक्त बन्दै

- नेपाली हेल्थ


बनेपा, १२ माघ । पाँचखालको समाजकल्याण प्राथमिक विद्यालयमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३९३ स्थानीय बासिन्दाले स्वास्थ्य जाँच गराएका छन् ।

पाँचखाल नगरपालिकाको समन्वयमा नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सङ्घको आयोजनामा शनिबार सम्पन्न भएको शिविरमा पाकिस्तानमा अध्ययन गरेर फर्किएका आठ चिकित्सकले सेवा प्रदान गरेका थिए ।

नेपालस्थित पाकिस्तानी राजदूत डा मजर जावेद, पाँचखाल नगरका प्रमुख महेश खरेल र नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सङ्घका अध्यक्ष हिमालयनशम्सेर राणाले संयुक्तरूपमा उद्घाटन गरेका थिए । यसैबीच युवा व्यवसायी एवं नेपाल आँखा अस्पताल शाखा सञ्चालक कल्याण ढुङ्गानाले पाँचखाल–४ समाजकल्याणचोकमा आँखा उपचार केन्द्र स्थापना गरी सेवा दिन थालेका हुन् । नगरप्रमुख खरेलले केन्द्रको शुभारम्भ गर्नुहुँदै विदेश तथा शहरमा रहेका युवा गाउँमा फर्केर व्यवसाय र सेवामा लाग्न जरुरी रहेको बताए ।

समृद्ध पाँचखाल नगर बनाउन सबैको साथ आवश्यक रहेको उल्लेख गर्दै उनले नगरपालिकाले मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा आँखा उपचार केन्द्र स्थापना गरेर नगरलाई सहयोग पुग्ने बताए । नगर उपप्रमुख लक्ष्मी दनुवार र प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले स्वास्थ्य क्षेत्रमा नगरले प्राथमिता दिएको बताए । रासस


Facebook Comment


थप समाचार