कञ्चनपुर : स्वास्थ्य सेवाको पहुँच बढ्दै


कञ्चनपुर, १० माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नवजात शिशु र मातृमृत्यु दर शून्यमा झरेको छ ।

बालबालिकालाई खोप लगाउने क्रम बढ्दो रुपमा रहेको छ । घर घर पुगेर खोप लगाउने कार्य शुरुआत गरिएपछि लक्ष्यभन्दा बढी खोप लगाइएको केन्द्रका अनमी उर्मिला जोशीले जानकारी दिए । कार्य क्षेत्रभित्र रहेका ८५ प्रतिशत भन्दा माथि बालबालिका खोपको पहुँचमा ल्याइएको उनले दाबि गरे ।

केन्द्रमा वडा नं ६ र ७ का बासिन्दाले आवश्यक स्वास्थ्य सेवा सहज रुपमा पाएका छन् । परिवार नियोजनका साधन मात्रै उपलब्ध हुने केन्द्रमा हाल ३५ प्रकारका औषधि निःशुल्क रुपमा पाइने गरेको छ । अहिले केन्द्रमा दैनिक ४० भन्दा बढी स्थानीय बासिन्दा सेवालिन जाने गरेका छन् ।

स्थानीय दानी गिरीले घर नजिकै स्वास्थ्य सेवा र औषधि उपलब्ध हुँदा सहज भएको बताए । यसैगरी शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि वडा नं १७ का बासिन्दाले सामान्य उपचारदेखि सुरक्षित मातृत्व सेवा पाउन थालेका छन । केन्द्रले वडा नं १७ देखि वडा नं ५, ११ र १२ का बासिन्दालाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्रअन्र्तगत चार वटा गाउँ घर क्लीनिक पनि सञ्चालन रहेको छ ।

केन्द्रका अनमी सारदा सिंहका अनुसार एक वर्षको अवधिमै चार हजार ३०० ले सामान्य उपचार सेवा पाएका छन । ती मध्ये ९३२ ज्येष्ठ नागरिकले रहेका छन् । सुरक्षित मातृत्व सेवा ८८ र परिवार नियोजन सेवा ९६६ ले लिएका छन । एक हजार ४२ बालबालिकाले पूर्ण खोप सेवा पाएका छन् ।

भीमदत्त नगरपालिका–१९ मा शहरी स्वास्थ्य केन्द्र भवन रु १६ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ । भवन निर्माण भएपछि गर्भवती जाँच, खोप र औषधि वितरणको कार्य केन्द्रको भवनबाट हँुदै आएको छ । केन्द्रबाट वडा नं २, १५, १८ र १९ का दैनिक ७० बासिन्दा लाभान्वित हुँदै आएका छन् । नगरपालिकाका १९ वटै वडामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्वास्थ्य सेवको पहुँच पुगेको छ ।
नगरपालिकाको वडा नं ९ मा शहरी स्वास्थ्य केन्द्र भवन रु १० लाखको लागतमा निर्माण गरिएको छ । केन्द्रको अर्को भवन रु २५ लाखको लागतमा चालू आवमा निर्माण हुने वडा अध्यक्ष राम नाथले जानकारी दिए ।

टुँडिखेलमा रहेको गाउँघर क्लीनिक भवन रु १० लाख र खल्लामा रहेको गाउँ घर क्लीनिक भवन रु १२ लाखमा निर्माण गरिएका छन । स्वास्थ्य केन्द्र वडामा नहुँदा विगतमा स्थानीय बासिन्दा उपचारका लागि निकटवर्ती भारतीय बजार टनकपुर जानुपर्दथ्यो । सो वडाको जनसङ्ख्या १० हजार रहेको छ । नगरपालिकाका सबै वडामा सञ्चालनमा रहेका स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूतिका लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल १२ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *