स्वास्थ्यको बाह्रौँ तह बढुवा : तीन जना मध्येबाट एक जना सचिव बन्दै

काठमाडौँ, ८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त तीनवटा  प्रमुख विशेषज्ञ पद ( १२ औँ तह)  नाम सिफारिस गर्ने बढुवा समितिले अघिल्लो साता काम फत्ते हुने बताएको थियो । तर अहिलेसम्म नाम सिफारिस हुन सकेको छैन् । सम्भवत: यसै साता नाम सिफारिस हुनेछ ।

नाम सिफारिस क- कसको हुनेछ ? त्यो त बढुवा समितिले गरिसकेपछि मात्रै थाह होला तर प्रतिस्पर्धामा रहेका र नाम सुनिएका तिनै पाँच – छ जनामध्येबाट नै सिफारिसमा पर्ने निश्चित जस्तै भएको छ ।

तीन जना मध्येबाट एक जना सचिव बन्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रमुख विशेषज्ञ पद ( १२ औँ तह) मा तीनवटा दरबन्दी खाली छ । बढुवा समिति यसैको तयारीमा लाग्दैछ । तर यतिनै बेला स्वास्थ्य समूहबाट सचिव बनेका डा पुष्पा चौधरीको समेत राजिनामा आएपछि अर्को झन् महत्वपूर्ण विशिष्ठ श्रेणीको पद पनि खालि भएको छ । र अब बढुवा हुने बाह्रौँ तहका तीन जनामध्येबाट एक जना सचिव हुने बताइएको छ ।

स्वास्थ्य सचिव खगराज बरालले डा चौधरीको राजिनामा पछि स्वास्थ्य समूहको सचिव पद खाली भएको बताए । उनले अब बाह्रौँ तहमा बढुवा हुने तीन मध्ये एक जना स्वास्थ्य समूहबाट सचिव बन्ने निश्चत भएको जानकारी दिए ।

‘एक जना सचिवमा एउटा बाह्रौँ तह रिक्त हुनेछ । त्यसपछि लगत्तै पुन एक जनाको बाह्रौँ तहमा बढुवा हुनेछ,’ सचिव बरालले भने ।

प्रतिस्पर्धामा को को छन् ?

बाह्रौँ तहको प्रतिस्पर्धामा डा. दिपेन्द्र रमण सिंह, डा रोशन पोखरेल, डा गुणराज लोहनी, डा भीमसिंह तिंकरी, महेन्द्रप्रसाद श्रेष्ठ, डा केदार सेन्चुरी, डा तारानाथ पोखरेल बढुवाको प्रतिस्पर्धामा अगाडी देखिएका छन् ।

पहिलो चरणमा यिनैमध्ये सम्भवत पाँच जनाको नाम सिफारिस हुनेछ । त्यसमध्येबाट तीन जना बाह्रौँ तहमा बढुवा भईसकेपछि एक जना सचिवमा जाने र रिक्त एक बाह्रौँ तहमा पुन: एक जना बढुवा गर्ने योजना रहेको बुझिएको छ ।

‘यी पाँच सात जनामध्ये सिफारिसमा को पर्छ भनेर भन्ने अवस्थामा देखिदैन् । नम्बरमा धेरै अन्तर छैन् पनि । त्यसैले अहिले नै अनुमान गर्न गाह्रो छ,’ मन्त्रालय स्रोतले थप्यो ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले १२ औँ तहको बढुवा भईसकेपछि माथिल्लो तहका केही कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताइसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *