नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट एकैपटक ५० बढी कर्मचारी ‘आउट’ !

काठमाडौँ, ७ माघ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विभिन्न परियोजनामा आवद्ध ५० भन्दा बढी कर्मचारी एकै पटक ‘आउट’ भएका छन् । स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले ती कर्मचारीको नियुक्ती प्रक्रियामाथि औला उठाएपछि उनीहरु ‘आउट’ भएका हुन् ।

मन्त्रालयको निर्देशनात्मक पत्र देखाउँदै परिषदले गत आइतबारबाट ती कर्मचारीलाई बोलाएर विदा गरेको हो ।

‘पुस मसान्त सम्म त करार थियो नै माघ १ देखि करार नविकरण गर्नुपर्ने थियो । त्यो हुन सकेन । मन्त्रालयबाट निर्देशन पत्र आएपछि हामीले अहिलेलाई विदा गरेका हौँ,’ परिषदका कार्यकारी अध्यक्ष प्राडा अञ्जनीकुमार झाले भने ।

उनले मेन्टल हेल्थ, स्टेप्स सर्भे लगायत विभिन्न परियोजनाका लागि लिएका ३५ ४० जना कर्मचारी विदा गरेको बताए । परिषदका कर्मचारी स्रोतले भने ५० बढी कर्मचार विदा भएको बतायो । ‘माघ १ देखि नविकरण गर्नुपर्ने थियो तर त्यसलाई निरन्तरता दिइएन एकै पटक ५० देखि ५५ जना यस्ता कर्मचारीको करार सम्झौँता थपिएन,’ स्रोतले भन्यो ।

परिषद्मा अनियमितता भएको भन्दै उजुरी परेपछि स्वास्थ्य मन्त्रालयले छानवीन समिति गठन गरी अनुसन्धान अघि बढाएको थियो । त्यो समितिले अनुसन्धान परिषदमा विभिन्न खालका त्रुटीहरु भएको औल्याएको थियो । त्यसैमध्येको एक कर्मचारी भर्ना प्रक्रिया पनि हो ।

स्वास्थ्य सचिव खगराज बरालले विभिन्न किसिमका उजुरी परेपछि मन्त्रालयले छानवीन समिति गठन गरि अनुसन्धान प्रक्रिया अघि बढाएको बताए । सोही समितिले दिएको सुझावको आधारमा निर्देशन दिएको जानकारी दिए ।

‘त्यतिका धेरै कर्मचारी भर्ना गरिएको छ । तर विधि प्रक्रियामा त हुनुपरयो नि । त्यो देखिएन । कर्मचारी भर्ना गर्दा सार्वजनिक सूचना प्रकाशित गरी लिखित तथा अन्तरवार्ता लिएर छनौट गर्ने प्रक्रिया पनि हुन्छ । त्यो गराएको पाइएन । त्यसैले हामीले निर्देशन दिएका हौँ,’ उनले भने ।

परिषदका अध्यक्ष डा झाले भने परियोजना अनुसार छोटो छोटो अवधीका लागि कर्मचारी लिनुपर्ने भएकोले पत्रिकामा निकाल्ने लगायतका प्रक्रिया नगरिएको बताए । ‘ सायद मैले मन्त्री ज्यूलाई बुझाउन नसकिरहेको हो कि, अब कुनै कामका लागि १५ दिनको लागि लिनुपर्छ, कुनै कामका लागि एक महिनाका लागि, यो सबै प्रक्रिया पुरयाउँदा ढिला पनि हुने रहेछ । त्यसैले यस्तो गरेका थियोँ । अब मन्त्रालयबाट निर्देशन आएपछि हामीले सोही अनुसार गरेका छौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट एकैपटक ५० बढी कर्मचारी ‘आउट’ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *