बी एण्ड सीका सञ्चालक प्रसाईँ विरुद्ध डा. गिरीको अर्को उजुरी, भक्तपुर प्रहरीद्धारा खोजी

काठमाडौँ, २ माघ ।  जिल्ला प्रहरी कार्यालय भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको खोजी गरेको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूमाथि प्रसाईँले ‘अभद्र व्यवहार’ गरेको भन्दै उजुरी दिएपछि प्रहरीले प्रसाईँको खोजी गरेको हो ।

डा. गिरीले बुधबार प्रसाईँका मान्छेले आफूलाई सानोठिमीस्थित कार्यालय परिसर र आफ्नो निवास बसुन्धारामा समेत पुगेर पर्चा फ्याक्ने, नाराबाजी गर्ने र दुव्र्यहार गर्ने प्रयास गरेको भन्दै सुरक्षा समेत माग गर्दै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाईएको हो ।

भक्तपुर प्रहरी प्रवक्ता कुमारविक्रम थापाले भने अभद्र व्यवहारको सम्वन्धमा थप अनुसन्धान गर्न मुद्धासंग सम्वन्धीत सबैपक्षलाई नियन्त्रणमा लिन पर्ने सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयसंग अनुमति लिएको बताए । ‘यो अभद्र व्यवहारसम्वन्धी मुद्धा हो । हामीले अनुसन्धान अघि बढाएका छौँ र स्थानीय प्रशासनसंग समन्वय गरेरै अघि बढेका छौँ,’ उनले भने । 

गत १५ मंसिरका दिन प्रस्तावित बी एण्ड सी मेडिकल कलेजको सम्वन्धनका लागि सानोठिमीस्थित आयोगमा निवेदन दिन जाँदा उपाध्यक्ष डा गिरीले बेलुका भेट गर्न बोलाएको र आफू सोही दिन बत्तिसपुतलीस्थित होटल द्धारिकामा जाँदा २० करोड घुस मागेको भन्दै प्रसाईँले दुई साता अघि पत्रकार सम्मेलन गरेका थिए ।

तर, डा. गिरीले आरोपमा सत्यता नरहेको भन्दै प्रसाईँ विरुद्ध जिल्ला अदालत काठमाडौँमा गाली वेईज्यती मुद्धा दर्ता गराएका थिए ।

यता प्रसाईँले भने डा गिरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *