स्वास्थ्य मन्त्री भन्छन्, ‘समायोजनको समस्या अब साँघुरिँदै गएको छ’

काठमाडौँ, २७ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीको समायोजनको काम पूर्ण रुपमा टुंगिन अझैँ केही समय लाग्ने संकेत गरेका छन् । तर, उनले पहिलेको तुलनामा धेरै काम भईसकेको भन्दै ‘समस्याको पोको’ अब साँघुरिदै गएको दावी गरेका छन् ।

आईतबार स्वास्थ्य पत्रकारहरुसंगको भेटमा मन्त्री ढकालले केही आन्तरिक कारणले समायोजनको काममा ढिलाई भएको भन्दै अब तिब्रता पाउने बताए ।

‘अब हामीलाई कसरी समाधान गर्ने होला भन्ने धेरै अन्योलता छैन । तर खास कर्मचारी नै परिवर्तन भएका कारण बीचमा केही काम रोकिएको हो । सम्भवत: सोमबार (भोलिबाट) कर्मचारी प्रशासन महाशाखा हेर्ने नयाँ सहसचिव आउनुहुन्छ । त्यसपछि पुन: चिठी वितरणको कार्यले तिब्रता पाउँछ,’ उनले भने ।

मन्त्री ढकालले यसअघि समायोजनका क्रममा पद घटुवामा परेका कर्मचारीहरुको समस्या मन्त्रिपरिषदले निर्णय गरिसकेको भन्दै सोमबार-मंगलबारबाट उनीहरुलाई चिठी दिइन थाल्ने बताए ।

‘करीब पन्ध्र सय दुई हजार स्वास्थ्यकर्मीको समस्या यसपछि टुंगिन्छ । अरु करीब ढेड दुई सय पद तथा तह फरक परेकाहरु पनि छन् । उनीहरको पनि सच्याएर चिठी पठाइन्छ । करीब ४७ जिल्लामा दरबन्दी खाली भएको ठाँउमा जान चाहेका कर्मचारीको संख्या पनि ठूलो छ । अब उनीहरुको पनि सूची प्रकाशित गरिनेछ । त्यसपछि पनि बाँकी रहेकाहरुलाई भने पुल दरबन्दीमा राखेर व्यवस्थापन गरिने योजना छ,’ मन्त्री ढकालले भने ।

उनले गुनासा टिपाउने केही स्वास्थ्यकर्मीहरुको समस्या भने समाधान गर्न नसकिने स्पष्ट पारे । ‘यो माग पुरा हुन्न भन्ने स्वयं कर्मचारीले पनि बुझ्नु भएको छ । हामीले पनि बुझेका छौँ तर त्यसलाई पनि प्रक्रिया मिलाउनुपरयो । त्यसका लागि एउटा पत्र काटनु पर्छ । त्यसपछि समाधान हुन्छ,’ उनले उदाहरण दिदै अगाडी थपे, ‘कौशलटारको कर्मचारी समायोजनमा चांगुनारायण परेपछि एक घण्टा पर पुगियो दुर्गम पुगियो भन्दै गुनासा टिपाएको अवस्था पनि छ । अहिले यसको समाधान हुनेवाला छैन । यस्ता गुनासाहरुलाई पत्र पठाएर जानकारी दिनुपर्नेछ।’

‘विभाग र मन्त्रालयमा हेरफेर हुन्छ ‘
स्वास्थ्य मन्त्री ढकालले स्वास्थ्य मन्त्रालय र विभागका अधिकारीहरु हेरफेर गर्ने योजनामा रहेको सुनाए । तर यो कार्य १२ औँ तहको बढुवाको काम सकिएपछि हुने पनि स्पष्ट पारे । ‘अहिले नै हेरफेर गर्दा पछि पुन: परिवर्तन गर्न पर्न सक्छ । त्यसैले १२ औँ तहको टुंगो लागोस त्यसपछि जिम्मेवारी परिवर्तनका कामहरु अघि बढाउँछु । यसले कर्मचारीको मोनोटोनोस पनि दुर हुन्छ । अबान्चित कार्यको लागि सेटिङ भईरहेको रहेछ भने त्यो पनि विग्रन्छ,’ उनले तर्क गरे ।

मेसु र अस्पतालका अध्यक्ष नियुक्ती केही पछि
मन्त्री ढकालले विभिन्न अस्पतालका मेडिकल सुपरिटेन्डेन र विकास समितिका अध्यक्ष नियुक्ति गर्ने कार्य पनि आफ्नो योजनामा रहेको बताए । ‘तर, यसको लागि केही समय लाग्छ,’ उनले भने ।

विधि बसाउनकै लागि दुई जनालाई नयाँ जिम्मेवारी दिएँ
मन्त्री ढकालले औषधि व्यवस्था विभाग र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका प्रमुख फेर्ने योजना विधि बनाउनकै लागि भएको दावी गरे । ‘एघारौँ तहका कर्मचारीलाई मन्त्रालयमा ल्याएर काम विहीन बनाएको छ । १० औँ तहका लागि हाकिम बनाएको छ । यो किन गरियो ? भन्ने जवाफ मैले पाइन । त्यसैले मैले औषधि व्यवस्था विभागमा महानिर्देशक र सूचना केन्द्रमा निर्देशक परिवर्तन गरेको हुँ,’ उनले भने ।

करीब आधा घण्टा पत्रकारहरुसंग कुरा गरेका मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयलाई व्यवस्थित बनाएरै छाड्ने विश्वास व्यक्त गरे । ‘त्यसका लागि केही समय धैर्य गर्नुपर्नेछ । तर स्वास्थ्य मन्त्रालय सुधार गरेरै छाड्छु,’ उनले अन्त्यमा भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्य मन्त्री भन्छन्, ‘समायोजनको समस्या अब साँघुरिँदै गएको छ’

Leave a Reply to Chakra Bahadur Bista Cancel reply

Your email address will not be published. Required fields are marked *