सुदूरपश्चिममा चिकित्सक अभाव

विमलबहादुर विष्ट

डोटी, २५ पुस । सुदूरपश्चिमका चिकित्सक अभावका कारण समस्या हुन थालेको छ । हिमपातसँगै एकाएकको चिसोले यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढे पनि उपचार गर्ने चिकित्सक नहुँदा सथानीयलाई सास्ती हुने गरेको छ । स्वास्थ्यकर्मी समायोजनमा यहाँका स्वास्थ्यकर्मीले सङ्घ रोजेर गएपछि डोटीलगायत समग्र सुदूरपश्चिमका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको हो ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा कूल १०४ जना चिकित्सकको अभाव रहेको छ । चिकित्सक अभावका कारण यहाँका अस्पतालमा भर्ना भएका बिरामीले सहज र सहुलियतरुपमा उपचार पाउन सकेका छैनन् । डोटी जिल्ला अस्पतालमा लामो समयदेखि प्रमुखको पद रिक्त रहेको छ ।

जिल्ला अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट तथा तीन जना मेडिकल अधिकृतको दरबन्दी रहे पनि हाल दुई जना मेडिकल अधिकृत मात्रै कार्यरत रहेका छन् । नर्वाँ र दशौँ तहका चिकित्सकको दरबन्दी खाली रहेको जिल्ला अस्पताल डोटीले जनाएको छ । पच्चीस श्ययाको अस्पतालमा दुई चिकित्सक, एक स्वास्थ्य सहायक, दुई अहेब, एक स्टाप नर्स तथा दुई वटा एएनएमको दरबन्दी रिक्त रहेको छ ।

त्यसैगरी बोगटान फुडसील गाउँपालिकास्थित केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रमा करीब डेढ वर्षदेखि चिकित्सक नै छैनन् । एक जना मेडिकल अधिकृतको दरबन्दी रहे पनि स्वास्थ्य सहायकले सेवा दिइरहेको स्थानीयवासी हेम बलमे बताए। उता जिल्लाकै जोरायल प्राथमिक स्वास्थ्य केन्द्रमा पनि मेडिकल अधिकृतको दरबन्दी भए पनि लामो समयदेखि मेडिकल अधिकृत नहुँदा स्वास्थ्य सहायकले नै बिरामीलाई सेवा दिइरहेका छन् ।

सुदूरपश्चिको एकमात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरा अस्पताल सङ्घ सरकार मातहतमा छ भने अरु दुई ठूला अञ्चल अस्पताल सेती र महाकाली तथा जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र र इलाका स्वास्थ्यचौकी स्थानीय तह मातहत गएपछि हरेक स्वास्थ्य संस्थामा सरकारी दरबन्दीका चिकित्सकदेखि अनमी, अहेबसम्मका स्वास्थ्यकर्मीको अभाव रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहत सेती प्राविधिक अस्पताल (साविकको सेती अञ्चल अस्पताल)कैलाली, महाकाली अञ्चल अस्पताल कञ्चनपुर तथा पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीका जिल्ला अस्पताल कैलालीको टीकापुर अस्पताल रहेका छन् । छिमेकी जिल्ला डडेलधुरा अस्पतालमा १९ जना चिकित्सकको दरबन्दी रिक्त छ भने स्थानीय सरकार मातहत रहेका डडेलधुराको जोगबुडा अस्पतालमा पाँच चिकित्सकको दरबन्दी रहेकामा सबै दरबन्दी रिक्त रहेको छ ।

डडेल्धुरा अस्पतालमा नेपाल सरकारले १०९ जनाको दरबन्दी रहने गरी स्वीकृति दिएको छ । स्वीकृत दरबन्दीमध्ये ३७ जनाको मात्रै पदपूर्ति भएको छ । पछिल्लो समय यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढे पनि चिकित्सक नहुँदा सबैले सेवा पाउन नसकेका दिपायलका स्थानीयवासी दिव्यराज पाठकले बताए ।

उनले भने, “अस्पतालमा बिरामीको चाप दिनहुँ बढ्न थालेको छ, चिकित्सक नहुँदा बिरामीले उपचार पाउन सकेका छैनन ।” त्यस्तै अछामको जिल्ला अस्पतालमा पनि दुई जना चिकित्सकको स्थायी दरबन्दी रहे पनि लामो समयदेखि दुई जना करारका चिकित्सकले सेवा दिइरहेका छन् । चौरपाटी गाउँपालिकाको चौरमाडौं प्राथमिक स्वास्थ केन्द्र र कमलबजार बजार नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना चिकित्सकको दरबन्दी रहे पनि अहिले रिक्त रहेको बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *