हुम्ला : रुघाखोकीले गाउँ नै थला, एकको मृत्यु


सिमकोट, पुस १६ । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ । केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ । सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहादुर रोकायाले जानकारी दिए ।

उनले मृतकका श्रीमान् घरमा नभएको बताए । मृतक बुढाका एक छोरी, दुई छोरा गरी तीन नाबालक छन् । मृतक बुढाको हिजै हिन्दू परम्पराअनुसार दाहसंस्कारसमेत गरिएको छ ।

रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना उपचारका लागि आउने गरेको अहेव वीरसिंह रावलले जानकारी दिए । रावल आफैँ एक हप्तादेखि गाउँमा फैलिएको मौसमी रुघाखोकीले बिरामी भएर स्वास्थ्यचौकीमा जान सक्नुभएको छैन । राया स्वास्थ्यचौकीमा यतिबेला उपचार गराउन ज्वरो आउने, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउनेजस्ता रोगका बिरामी आउने गरेको उनले बताए । उनका अनुसार अहिले राया स्वास्थ्यचौकीमा मौज्दात रहेको औषधि पनि सकिन लागेको छ ।

हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मङ्सिर महिनाको अन्तिम साता परेको भारी हिमपातले बिरामीको सङ्ख्या अझ बढ्दै गएको छ । जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढ्दै गएको छ । रुघाखोकीका बिरामीले अस्पतालका श्यया भरिभराउ हुने गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *