सामुदायिक विद्यालयका छात्राहरुलाई नि:शुल्क ‘सेनेटरी प्याड’ वितरण अभियान आरम्भ

काठमाडौँ, १४ पुस ।  सामुदायिक विद्यालयका छात्राहरुले नि शुल्कमा सेनेटरी प्याड पाउने अभियानको औपचारिक शुभारम्भ भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आज ललितपुरको सिद्धिमंगल माविका चार जना छात्राहरुलाई प्याड बाँढेर अभियानको शुभारम्भ गरेका छन् ।

गत जेठमा प्रस्तुत नीति तथा कार्यक्रममै समेटिएको निशुल्क सेनेटरी प्याड वितरण कार्यक्रमका लागि सरकारले चालु आर्थिक बर्षको बजेटमा १ अर्व ३७ करोड ३७ रकम विनियोजन गरेको छ । तर समयमै कार्यविधि नबन्दा यसको कार्यान्वयनमा समस्या भएको थियो । कार्यविधि तथा मापदण्ड गत ३० मंसिरमा पास भएको थियो ।

कार्यविधिमा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई निशुल्क रुपमा प्याड उपलव्ध गराइने उल्लेख छ । शिक्षा विभागका अनुसार कक्षा ६ देखि १२ सम्म अध्ययन् गर्ने छात्राको संख्या करीब ४० लाख रहेको छ ।

कार्यविधिमा चार दिन रजश्वला हुँदा प्याड लगाउनु पर्ने र प्रत्येक प्याड छ छ घण्टामा परिवर्तन गर्नुपर्ने मापदण्ड तोकिएको छ । सोही अनुसार एक जना छात्राले महिनामा १६ वटा प्याड विद्यालयबाट पाउने छन् ।

कार्यविधिमा सेनेटरी प्याडमा ९५ प्रतिशत सुतीको कपडा प्रयोग गर्नुपर्ने भनिएको छ । र प्याड स्थानीय निकायले खरीद गर्ने र स्थानीय विद्यालयमा वितरण गर्ने बताइएको छ । त्यसका लागि स्थानीय गाँउपालिका तथा नगरपालिकाहरुमा बजेट गईसकेको छ ।

अहिले तयार भएको कार्यविधिले चालु आर्थिक बर्षसम्मको मात्रै योजना उल्लेख गरेको छ । अर्को बर्ष यो कार्यक्रमले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने खुलाईएको छैन् ।

# तस्बिर सौजन्य : प्रकृति अधिकारी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *