वीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकको नयाँ मिति तय

काठमाडौँ, ४ पुस । मिति तय भएर अन्तिम समयमा स्थगित भएका दुईवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक पुसमै गर्ने तयारी भएको छ ।

गत कात्तिक २२ का लागि तय भएर स्थगित भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सिनेट बैठक २५ पुसका दिनका लागि तोकिएको छ । त्यसअघि नै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक सम्पन्न गर्ने सरकारको योजना छ ।

विहीबार राजधानीमा आयोजित स्वास्थ्य क्षेत्रका विज्ञ सम्मिलिन परामर्श बैठकमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सिनेट बैठक २५ पुसका दिन तोकिएको जानकारी दिए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक १४ पुसका लागि गर्ने तयारी भएको बताए ।

किन स्थगित भएको थियो बैठक ?

गत २२ कात्तिकका लागि तय भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक तत्कालिन स्वास्थ्य मन्त्री समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवको ठाडो निर्देशनमा बैठक बस्नु एक दिन अघि स्थगित गरिएको थियो ।

त्यसबेला प्रतिष्ठानका लागि रजिष्टार नियुक्त नभएको भन्दै उनले स्थगित गरेको बताएका थिए । तर भित्री कुरा उपप्रधानमन्त्री यादवको मान्छेलाई रजिष्टार बनाउने विषयमा त्यसबेला कुरा नमिलेपछि बैठक स्थगित भएको थियो ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक १२ मंसिरका लागि तय भएको थियो । तर कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिक्सको कारण अस्पताल भर्ना भएपछि बैठक एकाएक स्थगित भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *