उच्च अदालतको आदेश पछि निदान अस्पतालका सीईओ र डाक्टर सहित पाँच जना रिहा

काठमाडौँ, २६ मंसिर ।  उच्च अदालत पाटनले ‘मिर्गौला प्रत्यारोपण काण्ड’मा जेल परेका निदान अस्पतालका सिईओ र मेडिकल डाइरेक्टर सहित पाँच जनालाई थुनामुक्त गर्ने आदेश दिएको छ ।

अदालतको आदेशपछि अस्पतालका सीईओ विपेन्द्र प्रधान, कानूनी सल्लाहकार कुमुद भट्टराई, डा राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत रामचन्द्र आले र मिर्गौला लिने बिरामी शंकरमान लामा आजै रिहा भएका छन् ।

उच्च अदालतका मुख्य न्यायाधीश नकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलाशले दिएको आदेशमा मिर्गौैला ग्रहण गर्ने विरामी लामालाई १० लाख, कानूनी सल्लाहकार भट्टराईलाई ९ लाख र अस्पतालका सिईओ प्रधानसंग ६ लाख रुपैयाँ धरौटी माग गरेको थियो । डा पन्त र शाखा अधिकृत आलेलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

नक्कली भान्जा खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोपमा जिल्ला प्रहरी कार्यालयले गत २९ असोजमा सीईओ र डाक्टर सहित पँच जनालाई नियन्त्रणमा लिएको थियो । मानव अंग बेचविखन सम्वन्धी कसुर गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत पाटनले २७ कात्तिकमा पूर्वपक्षका लागि भन्दै जेल चलान गरेको थियो ।

अंग प्रत्यारोपण सम्वन्धी कानून भईरहेको अवस्थामा मानव अंग बेचविखन सम्वन्धी मुद्धा चलाइएको भन्दै उनीहरुका परिवारले जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटको आज फैसला भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *