पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित हुँदैनन्ः स्वास्थ्य मन्त्री ढकाल

चितवन, १५ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित नहुने बताएका छन् । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणपछि आयोजित छलफलमा उनले हरेक बिरामीलाई राज्य मेरो अभिभावक हो भन्ने प्रत्याभूति दिलाउने गरी काम गर्ने उल्लेख गरे ।

प्रारम्भिक चरणमा मन्त्रालयको काम र अस्पतालको अवस्थाबारे जानकारी लिइरहेको मन्त्री ढकालले बताए । उनले औषधि किन्न नपर्ने गरी राज्यको तर्फबाट सेवा प्रदान गर्ने योजना रहेको बताए ।

“विदेश भ्रमणका नाममा राज्यको स्रोत दोहन भएको छ”, उनले भने, “अब यस्तो प्रवृत्ति दोहोरिँदैन् ।” अनावश्यक कुरामा राज्यलाई खर्चको भार बोकाउने परिपाटीको अन्त्य गरिने मन्त्री ढकालको भनाइ थियो ।

अनावश्यक सेवा सुविधा कटौती गरी नागरिकलाई निःशुल्क औषधि दिनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मन्त्री ढकालले उल्लेख गरे । उनले अबदेखि स्वास्थ्य क्षेत्रमा पद रिक्त नहुने बताए । “अब पद रिक्त हुँदैनन्, समय भने लाग्छ, हिजोका गल्ती दोहोरिनु हुँदैन्”, उनले भने ।

चिकित्सक अस्पतालभित्र र निजामती कर्मचारी मन्त्रालय आउँदा आस्थाका आधारमा सेवालाई बिटुल्याउन नहुने उनको तर्क थियो ।

प्रारम्भिक चरणमा देशका सबै अस्पतालको अवस्था बुझ्ने र त्यसपछि दु्रतरुपमा काम गर्ने मन्त्री ढकालले प्रतिबद्धता जनाए । सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *