चिकित्सक संघको निर्वाचन : सदस्यता बनाउने अन्तिम दिन संघको कार्यालयमा तनाव

काठमाडौँ, १४ मंसिर । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा आज अपरान्ह देखिएको सदस्यता वितरण सम्वन्धी विवाद टुंगिएको छ । चेक अघि सारेर सदस्यता रसीद काटेको प्रजातान्त्रिक समूहले अन्तिममा नगद बुझाएपछि विवाद टुंगिएको हो ।

यसअघि नयाँ सदस्यता वितरणमा प्रक्रिया नपुगेको भन्दै संघको केन्द्रीय कार्यालयमा आज अपरान्ह प्रजातान्त्रिक समूह र प्रगतिशील समूहबीच विवाद भएको थियो । प्रजातान्त्रिक समूहले व्ल्यांक चेक देखाएर धमाधम सदस्यताको रसीद काटेको भन्दै प्रगतीशिल समूहले आपत्ती जनाएको थियो ।

विवाद बढ्दै जाँदा प्रहरीले हस्तक्षेप गरेको थियो । तर पछि निर्वाचन समितिले मध्यस्ता गर्दै विवाद मिलाएको हो ।

‘खासमा ७०० भन्दा बढीको उधारोमा सदस्यता रसीद काटेको पाइयो । यो त हद भयो भनेर हामीले विरोध गरेका हौँ । पछि चेक ल्याएर अहिलेलाई सहमतिमा पुग्ने भन्ने निर्णय भयो,’ अध्यक्षका उम्मेद्धार डा पुष्पमणी खरालले भने ।

उता अध्यक्षका अर्का प्रत्यासी डा लोचन कार्कीले आफूहरुले कुनै गल्ती नगरेको भन्दै अर्को समूहले यत्तिकै विवाद बनाएको दावी गरे । उनले अहिले सबैकुरा मिलिसकेको बताए ।

आगामी माघ महिनामा हुने चुनावमा यसपटक पनि नेपाली कांग्रेस निकट प्रजातान्त्रिक समूह र नेकपा निकट प्रगतिशील समूहबीच मुख्य प्रतिस्पर्धा देखिने स्पष्ट भएको छ ।

आगामी चुनावको लागि मतदान गर्न पाउनका लागि आज सम्म सदस्यता लिनुपर्ने थियो । प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले यसपटक सदस्यता ११ हजार बढी पुग्ने अनुमान भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *