गर्भ जाँच गराएका ७९ जना महिलामा एचआईभी पोजेटिभ

काठमाडौँ, १४ मंसिर । स्वास्थ्य संस्थामा गर्भजाँच गराउँन पुगेका महिलाहरुमा एचआईभी पोजेटिभ देखिएको छ ।

गतवर्ष देशभर करीब ४ लाख ४० हजार महिला गर्भजाँच गराएका थिए । ती मध्ये ७९ जनामा एचआईभी पोजेटिभ देखिएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले गर्भवती भएर स्वास्थ्य संस्थामा परीक्षण गराउँन जाँदा उनीहरुमा एचआईभी पोजेटिभ देखिएको बताए ।

यस्तै उनले गतवर्ष १८ महिना कम उमेर समूहका ३०७ जना शिशुहरुको रगत परीक्षण गर्दा २४ जनामा एचआईभी पोजेटिभ देखिएको सुनाए । उनले भने, ‘हामीले सम्भावित ठानेर उनीहरुको रगत परीक्षण गरेका थियौँ । तर २४ जनाको मात्रै पोजेटिभ देखियो ।’

३२ औँ विश्व एड्स दिवशको सन्दर्भ पारी राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रद्धारा आज आयोजित पत्रकार सम्मेलनमा निर्देशक डा अनुज भट्टचनले एड्स रोगको अवस्था र नियन्त्रणका प्रयासबारेमा जानकारी दिएका थिए । उनका अनुसार नेपालमा २९ हजार ९४४ जनामा एचआईभी संक्रमण भएको अनुमान छ । कुल संक्रमित मध्ये १७ हजार ७३२ जना पुरुष र १२ हजार २१२ जना महिला भएको अनुमान छ ।

केन्द्रका अनुसार नेपालमा ७६ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गर्दछ ।

यस्तै सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी, तथा तेस्रोलिंगी, रोजगारीका लागि विदेशीएकाहरु र जेलका कैदिहरु एचआईभीको उच्च संक्रमण हुनसक्ने जोखिम समूह भनेर छुट्याएको छ । र यी मध्ये सुईद्धारा लागूपर्दाथ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआईभी संक्रमणको दर अरु जोखिम समूहमा भन्दा उच्च रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *