कता हराईन स्वास्थ्य सचिव डा. चौधरी ? खोजी गर्दै मन्त्रालय

काठमाडौँ, १३ मंसिर । सरकारले स्वास्थ्य सचिव डा पुष्पा चौधरीले एक महिना अघि दिएको राजिनामा अस्वीकृत गरेको छ । यद्धपी उनी भने अहिलेसम्म काममा फर्केकी छैनन् । काममा फर्केको मात्रै होइन सरकारी अधिकारीसंगको सम्पर्कका पनि छैनन् ।

सचिव डा चौधरीले गत कात्तिक ३ गते मिडिया समक्ष आजैको मितिबाट राजिनामा दिएँ भनेकी थिइन । यद्धपी उनले १३ कात्तिकबाट लागू हुने गरी राजिनामा दिएको बुझिएको छ । तर १७ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले उनको राजिनामा अस्विकृत गरेको थियो । सो सम्वन्धी जानकारी पत्र ३ मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको थियो ।

सचिव डा. चौधरीको खोजी गर्दै स्वास्थ्य मन्त्रालय

मन्त्रिपरिषदले राजिनामा अस्विकृत गरेको पत्र पठाएपछि स्वास्थ्य मन्त्रालयले डा चौधरीको खोजी शुरु गरेको छ । यद्धपी डा चौधरी अहिलेसम्म मन्त्रालयको सम्पर्कका आईपुगेकी छैनन् ।

‘हामीले सचिव ज्यूलाई इमेल गरेका छौँ, सवारी चालक मार्फत राजिनामा अस्वीकृत भएको जानकारी पत्र घर सम्म नै पुरयाएका छौँ । तर अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘सायद देश बाहिर हुनुहुन्छ कि ?’

राजिनामा स्वीकृत नभएपछि सचिव पुन काममा फर्किनु पर्ने हुन्छ । कि त विदामा बस्नु पर्ने हुन्छ । अहिले उनले दुबै काम गरेकी छैनन् ।

राजिनामा किन अस्वीकृत भयो ?

सचिव चौधरीलाई सरकारले २०७५ असोज २८ मा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयमा सरुवा गरेको थियो । तर मन्त्रिपरिषदको सो निर्णय विरुद्ध उनी सर्बोच्च गईन । १५ कात्तिकमा रिट दायर गरेर १७ कात्तिकमा आफ्नो पक्षमा अन्तरिम आदेश लिएपछि स्वास्थ्यमै फर्किइन तर सरकारसंगको सम्वन्ध भने विग्रिएर गयो ।

सचिव रहेकै बखत उनले गत असारमा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को भारतस्थित ‘कन्ट्रि अफिस’को लागि पी फाइव (सहसचिव तह) लेभलको पोष्टमा आवेदन दिइ छनौट समेत भएकी थिइन ।

पछिल्लो पटक उनले सोही पदमा जागिर खानका लागि राजिनामा दिएकी हुन् तर सरकारले उनको राजिनामा स्वीकृत गरेन ।

सरकार विरुद्ध उत्रिएकी सचिवलाई किन सजिलै जान दिने भन्ने होला । मन्त्रालयका एक अधिकारीले भने, ‘सचिव जस्तो मान्छे सरुवा गर्दा सरकार विरुद्ध मुद्धा हाल्दै हिडेपछिको परिणाम हो ।’

त्यसो त चौधरीले राजिनामा दिनु अघि नै सरकार विरुद्ध दायर रिट फिर्ता लिएकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *