प्रधानमन्त्री ज्यूले कुरा गर्नुभयो, कालो चिया खानु भयो र आधा घण्टा बस्नुभयो : प्राडा सायमी

काठमाडौँ, ११ मंसिर । हिजो एपेन्डीसाइटीसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य क्रमिक रुपमा सुधार भएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्रीका उपचार टोली संयोजक बनाइएका प्राडा अरुण सायमीले स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार भएको र निकै नै सन्तोसजनक भएको बताए ।

दिउसो सवा १ बजे अस्पताल परिसरमा जम्मा भएका सञ्चारकर्मीलाई प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिदै प्राडा सायमीले भने, ‘विहान भेन्टिलेटरबाट निकालिएको छ । सपोर्टका लागि दिइएको आईभी लाइनहरु पनि हटाइएको छ । उहाँ होसमा हुनुहुन्छ, अहिले उहाँ कुरा गर्न सक्नुहुन्छ, म आफै पनि भर्खरै कुरा गरेर निस्किएको हुँ । अघि विहान उहाँलाई कालो चिया दिइयो । आधा घण्टा जति मेचमा बसाइयो पनि ।’

उनले भेन्टिलेटरमा राखिएको कुरालाई कतिपय सञ्चारमाध्यमले सनसनीपूर्ण बनाउन खोजेको भन्दै असन्तुष्टी प्रकट गरे । ‘जुनसुकै विरामीलाई शल्यक्रिया गर्दा बेहोस बनाइसकेपछि भेन्टिलेटरमा राखेरै उपचार हुने हो । यो उपचारको एउटा प्रक्रिया हो । तर मिडियाले यसलाई अति गम्भीर र अन्तिम अवस्थामा पुगे जसरी प्रस्तुत भए । त्यस्तो होइन । भ्रम नछरौँ ‘ उनले भने ।

प्रधानमन्त्रीको उपचारका लागि अस्पतालले आफ्नो संयोजकत्वमा ७ सदस्यीय टोली गठन गरेको समेत उनले बताए । प्रधानमन्त्री ओलीसंग भेटन अहिले टीमका चिकित्सक तथा नर्स बाहेक कोहीलाई नदिएको समेत उनले बताए ।

‘इन्फेक्सनको डर हुन्छ । त्यसैले कसैलाई भेटन दिएको छैन,’ उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *