विद्यार्थीसंग लिईएको अतिरिक्त शुल्क मेडिकल कलेजले फिर्ता गर्नै पर्छ : प्रधानमन्त्री

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुसंग लिइएको अतिरिक्त शुल्क मेडिकल कलेजहरुले फिर्ता गर्नै पर्ने बताएका छन् । सोमबार राती कान्तिपुर टेलिभिजनको फायरसाइडमा बरिष्ठ पत्रकार भुषण दाहाललाई दिएको विशेष अन्तरवार्तामा उनले विद्यार्थीसंग लिइएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने बताएका हुन् ।

यस्तो छ मेडिकल कलेजको विषयमा गरिएको कुराकानी :

प्रधानमन्त्री ज्यू यहाँहरु सुशासनका कुरा गर्नुहुन्छ तर स्पेशली मेडिकल विद्यार्थीहरु देशभर आन्दोलनमा छन्, सरकारले फिर्ता गर भनेको अतिरिक्त शुल्क उठाइएको छ भनिएको छ, त्यो फिर्ता गर्न पनि सञ्चालकहरु अटेर गरेर बसेको अवस्था छ, विद्यार्थी माथि दमनका समाचार पनि सुनिएका छन् कसरी हेरिरहनु भएको छ ?

यो बढी लिएका रहेछन् मेडिकल कलेजहरुले । अहिले विद्यार्थीहरु पहिले किन तिरे अहिले किन तिर्न मान्दैनन् ? अहिले किन बढी लिएको फिर्ता गर्न छ ? अहिलेको सरकार एउटा थितिको सरकार हो र यसले थितिमा चल्छ भन्ने छ । पहिले किन तिरेको ? पहिले किन आन्दोलन नगरेको ? किनभने आन्दोलनमा उत्रिनु बेकार छ भन्ने हुन्थ्यो । अहिले आन्दोलनमा उत्रिनु बेकार छैन । सुनुवाई हुन्छ । त्यसकारण उनीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुको विश्वास छ कि सरकारले उनीहरुलाई बढी तिर्न लगाउँदैन ।

जुन अड्डी सञ्चालकहरुले गरेका छन् साँचो बुझाउँदैछन् भनेर,  सरकारको प्रतिक्रिया के हुन्छ ? 
साँचो सरकारलाई बुझाउँछौँ भनेको मैले सुनेको छैन । यदि बुझाउँछु भन्नुभयो र बुझाउँनु भयो भने हामी व्यवस्था गरौँला ।

फिर्ता लिन सकिन्छ ? साँचो लिन सकिन्छ ?
सकिन्छ । बुझाउनु भयो भने के गर्ने ? त्यो व्यवस्था हुन्छ । तर उहाँहरुले त्यसो भन्नु हुन्न होला । पैसा बढी लिन नपाए साँचो बुझाउने हो भने, विद्यार्थी ढग्न नपाए साँचो बुझाउने हो भने । त्यो बेग्लै कुरा हो । उहाँहरुले त्यसो भन्नु हुन्न होला ।  शुल्क  फिर्ता गर्नै पर्छ उहाँहरुले ।

उसो भए सरकार चाँही विद्यार्थीहरुको पक्षमा छ ?
न्यायको पक्षमा छ । स्वभाविक रुपमा सरकारले जो तोकेको शुल्क हो त्यो भन्दा बढी लिन पाइदैन । जो सहमति भएको थियो त्यो भन्दा बढी लिन पाइदैन । सरकारले तोकेकोमा उहाँहरुले तत्काल असहमति किन जनाउनु भएन ? तत्काल त्यसमा किन मञ्जुर गर्नुभयो । यस अनुसार विद्यार्थी भर्ना गर्छौ र पढाउँछौँ किन भन्नुभयो ? यदी मर्का परेको भए सरकारसंग सम्वाद किन गर्नु भएन ? खुसुक्क विद्यार्थीलाई अप्ठेरोमा पारेर लुटने काम किन गर्नुभयो । त्यसकारण यसमा म केही सुनिरहनु पर्छ भन्ने ठान्दिन । सरकारले जे निर्णय गरेको थियो । जे सहमति गरेको थियो । त्यसमा सरकार दृढ छ । त्यस अनुसार फि उठनु पर्छ । त्यस अनुसार लिनुपर्छ । तोकिए भन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्छ । अब बढी लिनु पाइदैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *