दादुरा-रुवेला निवारण गर्ने लक्ष्य चार बर्ष थपियो
काठमाडौँ, ९ मंसिर । विश्व स्वास्थ्य संगठनले दक्षिणपूर्वी एसियामा सन् २०२० सम्म दादुरा रुवेला नियन्त्रण गर्ने योजना सार्दै गर्दा नेपालले त्यसको एक बर्ष अघि नै अर्थात सन् २०१९ मै दादुरा रुवेला निवारण गर्ने प्रतिवद्धता जनाएको थियो । तर प्रतिवद्धता पुरा गर्न न नेपाल सफल भयो न त दक्षिण पूर्वी एसियाली क्षेत्र नै ।
पुरानो लक्ष्य फेल खाएपछि डब्लुएचओले सन् २०२३ सम्ममा नेपाल र दक्षिणपूर्वी एसियाली देशबाट दादुरा नयाँ लक्ष्य तोकिदिएको छ । नेपालले नयाँ लक्ष्य भने जसरी पनि पुरा गर्ने प्रतिवद्धता जनाएको छ । त्यसको लागि यसैवर्ष देखि दादुरा रुवेला खोप अभियान २०७६-७७ शुरु गर्दैछ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरर्गतको खोप शाखा प्रमुख डा झलक शर्मा गौतम भन्छन्, विश्वव्यापी खोप कार्ययोजना सन् २०११–२०२० अनुसार दादुरा र रुवेला नियन्त्रण गर्ने लक्ष्य विविध कारणले पुरा हुन सकेन । त्यसैले गत ५ सेप्टेम्बरमा बसेको डव्लुएचओ रिजिनल कमिटि बैठकले नेपाल सहित ११ वटै देशलाई सन् २०२३ भित्रमा दादुरा र रुवेला निवारण गर्ने नयाँ लक्ष्य तोकिएको छ ।
दादुरा अतिनै संक्रामक रोग भएको कारणले यसको निवारण गर्न प्रत्येक तहमा दादुदा रुवेला खोपको दुबै मात्राको कभरेजदर ९५ प्रतिशत माथि हुनुपर्छ । तर नेपाललले सन् २०१८ मा पहिलो मात्रा ८१ प्रतिशत र दोस्रो मात्रा ६६ प्रतिशत मात्रै कभरेज गर्न सक्यो । यसले लक्ष्य प्राप्तिमा समस्या भएको हो ।
त्यसो त नेपालले ५८ जिल्लालाई पूर्ण खोप घोषणा गरिसेको छ । तर पनि १ प्रतिशत बालबालिकाहरुले कुनै खोप पाएका छैनन् । पूर्ण खोप नपाएका बालबालिकाहरुको संख्या २१ प्रतिशत छ । यस हिसावले अहिले पूर्ण खोप पाउने बालबालिकाको संख्या ७८ प्रतिशत मात्रै रहेको डा गौतम बताउँछन् ।
यसरी शुरु हुँदैछ दादुरा रुवेला खोप अभियान
यसैबीच सन् २०२३ सम्ममा दादुरा रुवेला रोग सरकारले आगामी फागुन र चैत महिनामा दादुरा रुवेला खोप अभियान शुरु गर्दैछ । यो अभियान अन्तरगर्त देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई खोप दिइन लागिएको छ ।
पहिलो चरणमा फागुन महिनाभर प्रदेश नं १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ जना बालबालिकालाई र दोस्रो चरणमा चैत महिनामा प्रदेश नं ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ जना बालबालिकालाई यो खोप दिइने तयारी छ ।
सोही समयमा यस पटक झापादेखि कञ्चनपुरसम्मका १८ जिल्लाका(चितवन र नवलपरासीलाई छाडेर) सबै बालबालिकालाई दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाईने योजना रहेको डा गौतमले जानकारी दिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



