सीएमसीका विद्यार्थी भन्छन्, ‘कलेज प्रशासनले नै पेस्तोल राखेको हो’
चितवन, ७ मंसिर । चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले पेस्तोल प्रकरणमा कलेज प्रशासनको षडयन्त्र भएको बताएका छन् । उनीहरुले पेस्तोल कलेज प्रशासनबाट राखिएको दावी गरेका छन् ।
भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित कलेजको परिसरमा आज दिउँसो बेवारिसे पेस्तोल भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अमेरिकामा निर्मित नाइन एमएमको अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली फेला परेको हो ।
त्यससँगै थ्रि नट थ्रिको सात राउण्ड खाली खोका, थ्रि नट थ्रिको एक राउण्ड गोली र दुई राउण्ड नाइन एमएमको गोली बरामत गरिएको थियो ।
विद्यार्थीले भने कलेजको अनियमितता विरुद्ध आन्दोलनलाई निस्तेज पार्ने षडयन्त्र स्वरुप कलेज प्रशासन स्वयंले हतियार राखेको भन्दै आफूहरु त्यसको प्रत्यक्षदर्शी समेत रहेको भन्दै कलेज प्रशासन सम्वद्ध सबैलाई गिरफ्तार गर्न माग गरेका छन् ।
विद्यार्थीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कलेज परिसरभित्र प्रहरी छिरेर गरेको अनुसन्धान नामक भ्रामक षड्यन्त्र गरि कलेज प्रशासन स्वयंले हतियार ल्याएको कलेजका विद्यार्थी सबै प्रत्यक्षदर्शी छौं,’ विद्यार्थीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीले कलेज प्रशासनका सबैलाई गिरफ्तार गर्न अनुरोध गर्दछौँ ।’
सम्पर्क इमेल : [email protected]