‘आजको उम्मेद्धार छनौटमा मेरो यसकारण असहमति’

आगामी माघ महिनामा नेपालको पहिलो व्यावसायिक संस्था नेपाल चिकित्सक संघ (एनएमए)को २८ औँ केन्द्रीय कार्याकारिणी समितिको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि उम्मेद्धार घोषणा गर्ने काम शुरु भएको छ ।

एनएमएमा मुलत दुई समूहबीच प्रतिस्पर्धा हुने गर्दछ । एउटा प्रजातान्त्रिक समूह र अर्को प्रगतिशील समूह । दुई समूहबीचको प्रतिस्पर्धामा अहिलेसम्म मेरो आवद्धता रहेको प्रजातान्त्रिक समूहले बाजी मार्दै आएको छ । यस अर्थले पनि हाम्रो प्रजातान्त्रिक समूहको उम्मेद्धार को बन्छ भनेर विशेष चासो रहन्छ । र,  म जस्तो संगठनका लागि रातदिन नभने खटनेका लागि त विशेष नै । तर आजको घोषणाले मेरो चित्त दुखाएको छ ।  मेरा सिनियरले यस्तो निर्णय गर्नुहुन्छ भन्ने मलाई लागेको थिएन ।

किनभने,

  • मैले एनएमएमा दुई कार्यकाल विताएँ । अघिल्लो कार्यकाल सदस्य भएँ भने त्यसपछि अहिले सह कोषाध्यक्ष । यो दुई कार्यकालको गणना गर्दा मैले एनएमएमा करीब करीब ९ बर्ष विताईसकेको छु । अहिले सहकोषाध्यक्ष पद भएपनि कोषाध्यक्ष एक बर्ष अध्ययन्का लागि बाहिर जाँदा सो जिम्मेवारी पनि कुसलतापूर्वक मैले नै सम्हालेको हुँ । सबैलाई थाह छ चिकित्सक संघले गर्ने हरेक गतिविधिमा मेरो संक्रिय सहभागिता रहेको छ । चाहे त्यो नीति निर्माण तहमा हो या दवाव मुलक कार्यक्रममा । एनएमएको गरिमा बढाउन मैले मेरो तर्फबाट सतप्रतिशत काम गरेँ जस्तो लाग्छ ।
  • यस अर्थमा मैले सुरु देखिनै आगामी निर्वाचनमा महासचिव पदका लागि दावेदारी प्रस्तुत गरेको थिएँ । तर आज एकाएक मलाई सहसचिव पदमा उम्मेद्धारी बनाउने सैद्धान्तिक सहमति भएको खबर बाहिर आयो । यसमा मेरो पूर्ण असहमति छ ।
  • म अहिलेको सह कोषाध्यक्ष हुँ । त्यसैले मेरो महासचिवमा दावेदारी थियो । तर समितिले एनएमएमा म भन्दा जुनियरलाई महासचिव बनाउने घोषणा गरेछ । अन्त नभएपनि चिकित्सा पेशामा सिनियर र जुनियर हुन्छ । एनएमएमा म अहिले महासचिवको उम्मेद्धार बनाइएका व्यक्तिभन्दा सिनियर हुँ । त्यसैले उनी भन्दा मुनिको तहमा उम्मेद्धार बन्न नैतिकताले नै दिने कुरा भएन ।
  • यहाँ निर एउटा कुरा क्लियर गर्न चाहेँ, मैले मलाई नै महासचिव हुनुपर्छ भनेको पनि होइन । म भन्दा सिनियर व्यक्तिलाई महासचिवमा उम्मेद्धार बनाइएको भए मलाई त्यो भन्दा मुनिको पदमा बस्न गाह्रो हुन्थेन । तर म भन्दा जुनियरलाई म माथि ल्याएर उठाउँदा म त्यहाँ रहने कुरा हुँदैन ।
  • उम्मेद्धार छनौट गर्ने टोलीलाई थाह हुन पर्ने हो । अहिले महासचिवमा उम्मेद्धार बनाइएका व्यक्ति समायोजन पछि डडेल्धुरा पठाइएका छन् । उनको पदस्थापन पनि डडेल्धुरामा भएको छ । डडेल्धुरामा पदस्थापन भएको व्यक्तिले एनएमएको महासचिव जस्तो पदमा कसरी काम गर्न सक्छ ?
  • अर्को मेरो असन्तुष्टी भनेको टोलीले आज घोषणा गरेको उम्मेद्धारमा न मधेसी छ न महिला छ । प्रजातान्त्रिक समूहमा यस्तो पनि हुन्छ र ?

र अन्तमा,

मैले महासचिव पदमा उम्मेद्धार हुनका कसैको चाकडी गरिन । मैले कामबाटै त्यो पदका लागि उम्मेद्धार छनौट हुन्छु भन्ने बुझेको थिएँ । एनएमएमा आजसम्म मैले गरेको इमान्दार प्रयास र कामको रिवार्ड यसरी गरिन्छ भन्ने सोचेको थिइन । त्यसैले यो सहसचिव पदका लागि मेरो सहमति छैन । म जुनियरको अण्डरमा रहेर उम्मेद्धार बन्दिन ।

(कुराकानीमा आधारित)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *